पर्यटन/संस्कृति

कला महोत्सव, ६० चित्रकार प्रतिस्पर्धामा

काठमाडौँ । काठमाडौँमा जारी ‘सिर्जनात्मक चित्रकला महोत्सव’को चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’मा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक रहनुभएका अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा बिहीबारदेखि शुरु भएको ‘सिर्जनात्मक चित्रकला महोत्सव’ अन्तर्गत अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा प्रतियोगितात्मक चित्रकला कार्यशाला आयोजना गरिएको हो । यसअघि परफरमेन्स आर्ट ९भावभङ्गी कला० प्रतियोगिता र कार्टुन कार्यशाला तथा प्रतियोगितालगायतका कार्यक्रम भइसकेका छन् ।

चित्रकारले हनुमानढोका क्षेत्रको वास्तुकला, दरबार स्क्वायर, मन्दिर र मन्दिरका कलात्मक ढोका, टुँडाल, झ्याल, मूर्ति, घण्टीलाई क्यानभासमा उतारेका छन् । प्रतिस्पर्धाका लागि चित्रकार विनोदकुमार गुप्ता र रोशन विकेले मन्दिरमा खोपिएको कलात्मक काष्ठकलालाई दुरुस्त उतारेका छन्। कलाकार डिबी राईले मन्दिर क्षेत्रको विशेष महत्वका प्राकृतिक सम्पदालाई क्यान्भासमा भर्नुभयो भने बुद्धि गुरुङले यहाँ राखिएको साँढेको मुर्तिसहितका दुश्यलाई समाएका छन् ।

अधिकांश चित्रकारले यहाँका प्राकृतिक र ऐतिहासिक सम्पदालाई क्यान्भासमा उतारेको बताउँदै अध्यक्ष गुरुङले आज अपराह्न विजेता घोषणा गर्ने तयारी भएको जानकारी दिए । प्रतियोगिताका लागि महोत्सव संयोजक रमेशनाथ खनाल, एनबी गुरुङ र डिराम पाल्पाली छन् । नयाँ र पुराना पुस्ताका कलाकार एकै ठाउँमा बसेर यसरी चित्र कोर्दा अनुभव आदानप्रदान हुने र चित्रकलासमेत निखारिने अग्रज चित्रकार शङ्करराजसिंह सुवालले बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुष्मा राजभण्डारीले यस्ता कार्यक्रम नियमित हुनुपर्ने बताउँदै आफ्नो विभागले समेत विभिन्न कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए ।