खेलकुद

राष्ट्रिय भलिबल फागुन २ देखि

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ११ हजार १११ र दोस्रो हुनेले रु ५१ हजार १०१ र तृतीय हुनेले रु २५ हजार १०१ सहित शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय भलिबल सङ्घसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता नाम दिइएको प्रतियोगीको मुख्य आयोजक प्रतापपुर गाउँपालिका रहेको छ ।