राजनीति

बहुसङ्ख्यक जनताको भावनाको कदर गर्न नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छः अध्यक्ष थापा

वालिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाललाई सर्वधर्मसापेक्ष पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाले आज यहाँ आयोजना गरेको विराट धर्मसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले नेपालको पहिचानका रुपमा हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै पहिचानको रक्षाका लागि नेपालका ७७ वटै जिल्लामा हिन्दुत्व जनजागरणसभा सञ्चालन गर्ने बताए ।

राप्रपाले कुनै पनि धर्मको विरोधी नभई सबै धर्मलाई समानरुपमा अगाडि बढाउन चाहेको बताउँदै बहुसङ्ख्यक नेपाली जनताको भावनाको कदर हुने गरी अगाडि बढ्नुुपर्नेमा अध्यक्ष थापाले जोड दिए । “देशमा शृङ्खलाबद्धरुपमा धर्म परिवर्तनको लहर चलेको छ,” अध्यक्ष थापाले भने, “धर्म परिवर्तनलाई रोक्नका लागि राप्रपाले जनतालाई सचेत बनाउने उद्देश्यले फागुन १५ देखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्दैछौँ ।”