खेलकुद

नतिजा सोचेभन्दा राम्रो आउने भएकाले अब खेलाडी छनोट खुला प्रतिस्पर्धाबाटः महासचिव तुलाधार

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) र एशियाली फुटबल महासङ्घ (एएफसी)द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने जानकारी दिए ।

उमेर समूहको दक्षिण एशियाली फुटबल प्रतियोगिता र एशियाली फुटबल प्रतियोगिता खेल्न एन्फाले खेलाडीको खुल्ला छनोट गर्नेछ । “खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट हुने टोलीले प्रतियोगितामा नतिजा सोचेभन्दा राम्रो आउने भएकाले यो कार्यक्रम शुरु गर्न लागेका हौँ ।” महासचिव तुलाधरले भने ।

एन्फाका अनुसार उक्त प्रतियोगिताहरुमा सभागिता जनाउने खेलाडी र एन्फा एकेडेमीका लागि आवश्यक खेलाडी छनोट आगामी फागुनको पहिलो सातादेखि शुरु गर्नेछ ।

एन्फामा आबद्व जिल्ला फुटबल सङ्घलाई पत्र लेख्दै एन्फाले उमेर समूहका खेलाडी छनोट गरिने जनाउँदै खेलाडीको प्रशिक्षण शुरु गर्न समेत आग्रह गरेको छ ।

महासचिव तुलाधरका अनुसार एन्फामा उमेर समूहको प्रतियोगिता खेल्न करिब ११ खेलाडी रहेका छन् । अन्तिम छनोटमा एन्फा र जिल्लाबाट आएका खेलाडीलाई समावेश गरिनेछ ।