प्रदेश 1

निरन्तर बर्षा र हिमपात, टेलिफोन सेवा अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसममा शुक्रबार पनि सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेको छ । शनिबार पनि प्रभाब घट्ने सम्भावना देखिएको छैन ।

सल्लेरीबाट देख्न सकिने डाँडाकाँडा हिउँले सेताम्य भएको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । जनजीवन कष्टकर भए पनि पानी र हिमपात भएका कारण किसान भने हिउँदे बाली सप्रने भन्दै खुशी भएका छन् । माघमा परेको पानी बालीनालीका लागि निक्कै राम्रो हुने थुलुङदूधकोशी–७ का कृषक रिद्धिबहादुर केसीले बताए । केसीले भने, “पानी प¥यो, वस्तुभाउ, बूढाबूढी, केटाकेटी प्रभावीत भए पनि किसानका लागि हर्षको कुरा हो ।” मौसम विभागले शनिबारसम्म देशभरिको मौसम बदली हुने मौसमविद् सुवास रिमालले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध

हावाहुरीका कारण जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो आएको हावाहुरीले सोलुखुम्बुको पत्तालेस्थित नेपाल टेलिकमको एन्टेनामा असर पारेपछि फोन सेवा प्रभावित भएको नेपाल टेलिकम सल्लेरीका प्रमुख श्याम कठायतले जानकारी दिए ।

हावाहुरीका कारण टेलिकमको ल्याण्डलाइन, नमस्ते, स्काईलगायत टेलिफोनमा टावर आउने जाने भइरहेको छ । नेटवर्क देखाउने गरे पनि फोन सम्पर्क नहुने सेवाग्रही सृजना खत्रीले बताए ।

जिल्ला सदरमुकाम क्षेत्रको मुख्य टावर रहेको पत्तालेमा हिमपात तथा तीव्र गतिको हावाका कारण सम्पर्कविच्छेद भएको हो । मर्मतपश्चात् मात्र फोन सेवा सञ्चालन हुनसक्ने सल्लेरी प्रमुख कठायतको भनाइ छ ।

एफएम रेडियो प्रभावित

हावाहुरीका कारण सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवासमेत प्रभावित बनेको छ । जिल्ला सदरमुकामसहित आसपासका करीब एक हजार ६०० घरधुरीलाई विद्युत् सेवा प्रदान गर्दै आएको कम्पनीको सेवा आज दिनैभरि प्रभावित बनेको हो । विद्युत् आउने–जाने भएपछि यहाँ सञ्चालित एफएम रेडियोको सेवासमेत प्रभावित बनेको सञ्चारमाध्यमले जनाएको छ ।