अन्तर्राष्ट्रिय

महिला विश्वकपको टिकट मार्च ७ देखि सबैका लागि बिक्रीमा

पेरिस । महिला विश्वकप फुटबल प्रतियोगिता २०१९ को टिकटको किनबेच आउँदो मार्च ७ देखि हुने भएको छ । प्रतियोगिताको मूल आयोजक संस्था अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र स्थानीय आयोजकहरूले व्यक्तिगत रूपमा सर्वसाधारणले यही मार्च ७ देखि टिकट किन्न पाउने व्यवस्था गरिएको जनाएका हुन् ।

फ्रान्समा हुने तय भएको यस प्रतियोगिताका खेल हेर्न सबैभन्दा सस्तो टिकट नौ युरोको रहेको शुक्रबार जानकारी दिइएको छ । फ्रान्स र दक्षिण कोरियाका बीचमा हुने उद्घाटन खेलको टिकट मूल्य भने न्यूनतम १३ युरोदेखि माथि रहेको छ ।

प्रतियोगिताको फाइनल खेल लियोनमा हुने र त्यस खेल हेर्नका लागि टिकटको मूल्य २३ देखि ८४ युरोसम्मको तय गरिएको छ ।

प्रतियोगिता फ्रान्सका नौ शहरमा यही जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । प्रतियोगितामा २४ वटा समूह सहभागी हुनेछन् भने ५२ वटा खेल हुनेछ ।

आयोजक संस्था फिफाले चार महिनाभित्रमा तीन लाख ३० हजार टिकट विक्री हुने अनुमान गरेको छ ।

सबैभन्दा धेरै टिकट फ्रान्स, त्यसपछि अमेरिका र तेस्रोमा बेलायतका समर्थकहरूले किन्ने अनुमान पनि गरिएको छ ।