लुम्बिनी

सुकुम्वासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले भूमि आयोग गठन गरेर सुकुम्वासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आजको बैठकको विशेष समयमा उनीहरुले भूमि समस्या समाधानका लागि प्रदेश सरकारले तत्काल प्रादेशिक भूमि आयोग गठन गर्न माग गरे ।

सदस्य डा. कृष्ण न्यौपानेले भूमि व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउँदै भूमि आयोग गठन हुन ढिलाइ हुँदा भूमिहीनको समस्या सम्बोधन हुन नसकेको बताए । सदस्य भोजप्रसाद श्रेष्ठले प्रादेशिक भूमि आयोग गठनको कामबारे सरकारसँग जानकारी माग गर्दै “भूमि समस्या समाधान गर्न सरकारले के गरिरहेको छ, आयोग गठनको काम कहाँ पुग्यो सदनलाई जानकारी होस्”, भने ।

उनले हिंसा अन्त्यका लागि महिला आयोग गठन प्रक्रियामा समेत ढिलाइ भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । अर्का सदस्य डिल्लीबहादुर चौधरीले सदन निरन्तर चल्ने वातावरण बनाउनुपर्ने बताउँदै “सभामा कम्तीमा महीनामा एक पटक मुख्यमन्त्रीसँग छलफल हुनुपर्छ, सरकारले के गरिरहेको छ सदस्यलाई जानकारी हुनुपर्छ”, भने ।

सदस्य कुलप्रसाद पोखरेलले सबै सदस्यले सभाको गरिमालाई बचाउने काम गर्नुपर्ने बताए । प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गरेको प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सदस्य कमलादेवी विक र इन्द्रजीत थारूले विधेयक महत्वपूर्ण रहेको भन्दै त्यसको स्वागत गरे ।

यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ खानी, अन्वेषण र व्यवस्थापनसम्बन्धी बनेको विधेयक सभामा पेश गर्नुभयो भने कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश नं ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरे ।