समाचार

प्रदेशमा गएपछि यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह भएन

काठमाडौँ । प्रदेश सरकारको मातहतमा गएको छ महीना बितिसक्दा पनि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न सकेको छैन । कार्यालयले प्रदान गर्दै आएको चालक अनुमतिपत्र, सवारीको दर्ता, नवीकरणलगायतका सबै काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका यातायात व्यवस्था विभागले नै गरिरहेको छ ।

एक महीना पहिले विभागले चालक अनुमतिपत्र छपाइलगायतका काम आफैँ गर्नु भन्दै पत्र पठाएको कार्यालयले जनाएको छ । पत्र आए पनि स्रोतसाधन र जनशक्ति नहुँदा आफैँ गर्ने अवस्था नरहेको कार्यालय प्रमुख चेतप्रसाद उप्रेतीले बताए । ‘स्मार्ट’ चालक अनुमतिपत्र विभागलाई नै सञ्चालन गर्न कठिन रहेकाले कार्यालयले सञ्चालन गर्ने अवस्था नरहेको उनले बताए । उनले भने, “अहिले नै ‘स्मार्ट’ चालक अनुमतिपत्र सेवाग्राहीले समयमा पाएका छैनन् भने विभागले जिम्मेवारी नलिँदा यहाँबाट सञ्चालन गर्न अझै गाह्रो पर्छ ।”

चालक अनुमतिपत्रमा मात्रै होइन, नयाँ सवारीसाधनको दर्ता गर्दा नम्बर सङ्घकै वितरण भइरहेको कार्यालयले जनाएको छ । स्कुटर, मोटरसाइकललगायतका दुईपाङ्ग्रे सवारीको प्रदेशको नम्वर वितरण भए पनि चारपाङ्ग्रे सवारीमा वाग्मती अञ्चलकै नम्बर वितरण भइरहेको छ । सङ्घले चासो दिन छाड्ने र प्रदेशले पनि जिम्मा नलिँदा सेवा प्रवाहमा धेरै खालका समस्या आउन सक्ने प्रमुख उप्रेतीले बताए । यातायात व्यवस्था कार्यालयमा अहिले सेवाग्राही धेरै खालका समस्या लिएर आउने गरेको जनाएको छ । उनले भने, “संविधानले नै यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिएकाले उसले जिम्मा लिनुपर्छ ।” गत असोजमा प्रदेश नं ३ का तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेशमातहत गएको भन्दै सो कार्यालयमा उद्घाटन गरेका थिए । त्यसपछि कार्यालयको ‘बोर्ड’ मा प्रदेश लेखिए पनि अरु काम सङ्घ मातहतमा नै सञ्चालन भइरहेको छ ।