बाग्मती

नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण

काठमाडौँ । नागार्जुन नगरपालिकामा एक हजार ३५५ घर पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका पाँच हजार भन्दा बढी घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो । नगरपालिकाका प्रवक्ता थुमराज केसीले भूकम्पले क्षति पु¥याएका पाँच हजार घरमध्ये चार हजार १०६ घरपरिवारले पहिलो किस्ता र झण्डै दुई हजार परिवारले दोस्रो किस्ता लिएको जानकारी दिए ।

नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एकलाख प्रदान गर्दै आएको छ । नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको जानकारी दिए ।

“घरको क्षतिलाई हेरेर वडाबाट आएको सिफारिसका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उनले भने, “नगरपालिकाभित्र १६ हजार ७४६ घरधुरी र ६७ हजार ४२० जनसङ्ख्या रहेको छ ।” यस्तै घर निर्माणका लागि चाहिने आवश्यक काठ भने सहुलियत दरमा द टिम्बर कर्पोरेशन अफ नेपालले वितरण गर्दै आएको छ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि टिम्बर कर्पोरेशनले जिल्ला वन कार्यालयको निवेदनका आधारमा प्रदान गर्दै आएको हो ।