कृषि

पूरै गाउँको आयस्रोत केराखेती

म्याग्दी । वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्छन् । खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थालेका छन्। ‘घरमा काम गर्ने मान्छे छैनन् । खेताला पाइन छाडे । खेती लगाएर लगानी पनि नउठ्ने भएकाले बाझै छोड्ने सोच बनाएको खेतमा केरा लगाएकी थिएँ’, घिमिरेले भने, “अन्नबालीको वर्षभरीको आम्दानी केराले दुई महीनामै उठायो ।”

अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको कृषक क्षेत्रीले बताए। घिमिरे र क्षेत्री जस्तै डेढसय घरधुरीको बसोवास रहेको खबराका बासिन्दा केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केराखेती गरेका छन् । केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक सोवित शर्माले बताए ।

करीब ५० जनाले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश÷पन्ध्र घारी केरा नलगाएको घरनै छैन् । मानबहादुर थापा, हीरा कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा भित्र्याउनु भएको थियो । ‘‘परीक्षण सफल भएपछि केराखेतीले विस्तारै तीव्रता पाएको हो’’, कुँवरले भने, “यसअघि घरायसी उपभोगका लागि बाइसे, मुङ्ग्रे, धुर्से जातको लगाउने गरेपनि बिक्री गर्ने चलन थिएन ।”