गण्डकी प्रदेश

शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

दमौली । तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमता रहेको कारागारमा हाल १३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो । कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिए । कारागारभित्र हाल सातवटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको उनले बताए।

उनले भने, “अरु समयभन्दा बिहानको समयमा समस्या हुने गरेको छ । बिहानपख शौचालय जान पालो पर्खनुपर्छ ।” पर्याप्त शौचालय नहुनु र कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा यस्तो समस्या आएको उनले बताए । कारागारका प्रमुख नारायण अधिकारीले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले यस्तो समस्या आएको बताए । उनले कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणका लागि पहल गरिएको जानकारी दिए । उनले भने, “दिउँसोको बेलामा त त्यति समस्या हुँदैन, बिहानको समयमा पालो पर्खिएरै शौचालय जानुपर्ने अवस्था छ ।”

पैतीस जनाको क्षमता रहेको कारागारमा ६१ थुनुवा र ६९ कैदी गरी १३० जना कैदीबन्दी रहेका छन् । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा असहज भएकाले यस विषयमा कारागार व्यवस्था विभागसँग छलफल गरी समस्या समाधान गरिने बताए। तनहुँ कारागारमा रु आठ करोडको लागतमा महिला बन्दीगृह निर्माण भइरहेको छ । गत फागुनबाट निर्माण थालिएको भवन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पराजुली होम निर्माण जेबीले महिला बन्दीगृह भवन निर्माण गरिरहेको छ । दुई रोपनी क्षेत्रफलमा प्रहरी व्यारेक, कार्यालय भवन र ५० जना क्षमताको बन्दीगृह निर्माण भइरहेको कारागार प्रशासनले जनाएको छ । हाल तनहुँ कारागारमा महिला बन्दीगृह नहुँदा उनीहरुलाई कास्की र गोरखा कारागार पठाउनुपर्ने अवस्था छ ।