गण्डकी प्रदेश

खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिम र ४ ओखरबोटमा निर्माण भएको खानेपानी आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत बिममा सौर्य ऊर्जाको प्रयोग गरेर लिफ्ट प्रविधिको र ओखरबोटमा डिल्लीखोला खानेपानी आयोजना निर्माण भएको हो ।

बिममा रु एक करोड ४३ लाख लागतमा निर्माण भएको लिफ्ट खानेपानी आयोजनाबाट नौरु, तल्लोगाउँ र अस्तवाङका १११ घर तथा आठ विद्यालय तथा सार्वजनिक स्थानमा धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए।

बाइस किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको ‘रिजर्भ’ ट्याङ्कीमा पु¥याएर वितरण गरिएको हो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुग्जालीले बताए ।

ओखरबोटमा निर्माण भएको डिल्लीखोला खानेपानी आयोजनाबाट ४० घरधुरी लाभान्वित भएका छन् । कूल रु ५३ लाख ७३ हजार २४६ को लागतमा निर्माण भएको आयोजनाबाट ओखरबोटका ४० घरधुरी लाभान्वित भएका छन् । सबै घरमा मिटरजडित निजी धारामार्फत खानेपानी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए ।

आयोजना निर्माणका लागि नेपाल सरकारले रु २१ लाख ३२ हजार १०४, गाउँपालिकाले रु पाँच लाख ३२ हजार ३२४ र फिनल्याड सरकारले रु ११ लाख ९९ हजार ३०८ अनुदान सहयोग गरेका थिए । स्थानीयवासीले रु १४ लाख ५० हजार ७७६ बराबरको श्रमदान गरेको उपभोक्ता समितिले जनाएको छ ।