पु.समाचार

आयोगका अध्यक्ष र सदस्यद्वारा राजीनामा

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिएका छन् ।

आयोगका सदस्य मञ्चला झाका अनुसार अध्यक्ष गुरुङ र सदस्य खनालले आयोगको सचिवालयमा यही माघ २७ गतेदेखि लागु हुने गरी आज राजीनामा दिएका हुन् । आयोगको म्याद पनि यही माघ २७ गतेदेखि सकिँदैछ । आयोगका पदाधिकारीले चार वर्षसम्म पीडितको पीडालाई महसुस गरेर काम गर्न नसकेको आलोचना भइरहेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनको दफा ७ ले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । तर अध्यक्ष र सदस्यले आयोगकै सचिवालयमा राजीनामा बुझाएका छन् ।

सरकारले दुवै आयोगको म्याद एक वर्ष थप गर्ने तथा वर्तमान पदाधिकारीको म्याद चैतमसान्तसम्म रहने गरी आयोगको ऐन संशोधन गर्न बनेको विधेयक दुवै सदनमा पेश भइसकेको छ ।