पु.समाचार

उच्च क्षेत्रमा वर्षा हिमपात, पर्यटक र किसानमा खुशी छायो

चरिकोट । दोलखाको उच्च भागमा आज बिहानैदेखि भएको हिमपात र वर्षको कारण चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ भने यहाँका किसान उत्साहित भएका छन् ।

जिल्लाको कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङ डाँडालगायतका उच्च भागमा बिहानैदेखि हिमपात भएको छ भने जिल्लाको अधिकांश भागमा वर्ष भई रहेको छ । वर्षसँगै चिसो बढेपछि उच्चभागमा बसोबास गर्ने वृद्धवृद्धा र बालबालिका चिसोको उच्च जोखिममा परेका छन् ।

भूकम्पबाट क्षति भएको दोलखामा पुनःनिर्माणको काम सम्पन्न भई नसक्दा अस्थाई टहरामा बसोबास गर्दै आएका भूकम्प पीडितको जनजीवन प्रभावित बनेको छ । तीन हजार ८४२ मिटरको उचाइमा रहेका पर्यटकीय क्षेत्र कालिञ्चोकमा एक साताअघि मात्र परेको बाक्लो हिमपात नसकिँदै पुनः बिहानैदेखि बाक्लो हिमपात शुरु भएको छ ।

हिमपात भएसँगै स्थायीय होटल व्यवसायी उत्साहित भएका छन् भने सामान ढुवानीका लागि समस्या हुने कुरीका होटल व्यवसायी हरी ओलीले बताए । जिल्लाको अधिकांश ठाँउमा भएको वर्षासँगै किसान भने खुसी भएका छन् । जिल्लामा राम्रो उत्पादन हुने आलु, काउली, बन्द, गहुलगायतको बालीलाई माघमा भएको वर्षले राम्रो हुने र उत्पादन बढ्ने हुँदा किसानहरु उत्साहित भएका छन् ।