स्वास्थ्य

आठ हजार कुष्ठरोगीको उपचार

काठमाडौँ । लेलेस्थित आनन्दवन अस्पतालमा आठ हजार कुष्ठरोगीले उपचार गराएका छन् । गत वर्ष अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा सात हजार ८०५ र भर्ना भएका ७९१ बिरामीको उपचार भएको अस्पतालले जनाएको छ । रोग लागेपछि अस्पतालमा जचाउनुपर्छ भन्ने भावना बढ्दा अस्पतालमा आउने बिरामी सङ्ख्या बढिरहेको अस्पतालका तालिम संयोजक गोपाल पोखरेलले बताए। पहिले कुष्ठरोग लागेपछि धामीझाँक्री कहाँ जाने वा रोग लुकाएर बस्ने गरेका थिए तर जनचेतना वृद्धिसँगै कुष्ठरोगका बिरामी अहिले उपचारका लागि अस्पताल आउने गरेका छन् । उनले भने, “कुष्ठरोगप्रति रहेको गलत धारणा कम हुँदै जाँदा उपचारका लागि अस्पताल आइपुग्ने विरामीको सङ्ख्या बढ्दो छ ।”

नेपाल कुष्ठरोग निवारण घोषणा भएको एक दशक पुगेको छ । संयोजक पोखरेलले भने, “एक दशक पहिले यो रोग निवारणको घोषणा गर्दाभन्दा अहिले नयाँ बिरामी सङ्ख्या बढिरहेको राष्ट्रिय तथ्याङ्कले पनि देखाएको छ ।” अहिले पनि यो रोग लागेका व्यक्तिलाई परिवार र समाजले हेलाको दृष्टिले हेर्दा बिरामी उपचारका लागि हतार नगरेको अस्पतालका कुष्ठरोग विशेषज्ञ डा महेश साहले बताए । यो रोग वंशाणुगत पनि नभएको र खानपानका कारणले पनि एक व्यक्तिबाट अर्कोमा नसर्ने उनले बताए । कुष्ठरोग लागेर पनि उपचार शुरु नगरेका बिरामीबाट मात्रै रोगको किटाणु एक व्यक्तिबाट अर्कोमा सर्ने उनले बताए ।

अस्पतालको बहिरङ्ग विभागमा सन् २०१७ मा सात हजार ८०५, सन् २०१६ मा छ हजार २१२, सन् २०१५ मा सात हजार २१६ र सन् २०१४ मा पाँच हजार ५१८ बिरामी उपचारका लागि अस्पताल आएका थिए । गत वर्ष ४४२ कुष्ठरोगीलाई अस्पतालमा शल्यक्रिया गरिएको थियो । अस्पतालले ३० बिरामीको रोग निदान प्रमाणित गरेको थियो । रोग निदान प्रमाणित गर्न नेपाल सरकारले यस अस्पताललाई मात्रै मान्यता दिएको छ । स्वास्थ्य सेवा विभागको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको तथ्याङ्कअनुसार यस वर्ष देशभरमा जम्मा नयाँ बिरामी सङ्ख्या तीन हजार १८७ रहेको छ ।