लुम्बिनी

बुटवलमा ‘एक वडा एक हरियाली पार्क’

रुपन्देही । बुटवल उपमहानगरपालिकाले ‘एक वडा एक हरियाली पार्क’ निर्माण कार्य शुरु गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नगरका १९ वटै वडामा हरियाली पार्क निर्माण गर्ने योजना उपमहानगरले अगाडि बढाएको हो । वडामा भएका पार्कलाई व्यवस्थित गर्ने र नभएका स्थानमा हरियाली पार्क निर्माण गर्ने काम शुरु भएको उपमहानगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा पार्क निर्माणका लागि रु एक करोड १२ लाख बजेट विनियोजन गरिएको उपमहानगरपालिकाका पर्यटन प्रवद्र्धन शाखा अधिकृत कल्पना अर्यालले जानकारी दिए । प्रदेश सरकारसँगको सहकार्यमा हिलपार्क, रामापिथेकर्स पार्क र मणिमुकुन्द पार्क व्यवस्थापनका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरिएको छ । उपमहानगरपालिकाका अनुसार सहरी सौन्दर्यकरणका लागि राजमार्ग छेउछाउमा फूलबारी निर्माण गरी शहरलाई थप सौन्दर्यकरण गर्ने काम गरिनेछ । हरियाली व्यवस्थापन, सौन्दर्यकरण र वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गरिने शाखा अधिकृत अर्यालले बताए ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरभित्रका पार्कलाई विधागत रुपमा विकास गर्ने र नभएका वडामा पार्क निर्माण गर्ने योजना बनाएको बताए । पर्यटकको आकर्षका लागि बुटवलको हिलपार्कमा बुद्धको ठूलो मूर्ति स्थापना गर्दै छौँ, उनले भने, “मणिमुकुन्दसेन उद्यान फूलबारीलाई ऐतिहासिक पार्कको रुपमा विकास गर्दैछौँ ।” यहाँका प्रत्येक वडामा पार्क निर्माण गरेर स्वच्छ र सुन्दर बुटवल बनाउने अभियानमा लागेको प्रमुख सुवेदीले बताए ।

यहाँका पार्क आन्तरिक पर्यटकको मुख्य आकर्षणको थलो बन्दै गएकाले यसको दिगो विकासका लागि सबै लाग्नुपर्ने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको भनाई छ । “हाम्रो बुटवल, समृद्ध बुटवल निर्माणका लागि उपमहानगरले पार्क निर्माणको योजना बनाएको छ, यसको व्यवस्थापन र सरसफाइमा स्थानीयवासीले पनि साथ दिनुपर्छ”, उनले भने । प्रदेश सरकारको सहयोगमा नगरमा रहेका हिलपार्क, मणिमुकुन्द सेन उद्यान, मिलन पार्क, ग्लोबल पिस पार्कको स्तरीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर हरियाली तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपमहानगरपालिकाका वरिष्ठ अधिकृत डोलराज पौडेलले जानकारी दिए।