गण्डकी प्रदेश

वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् ।सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

कुटपिटमा संलग्न तीन पक्राउ

तनहुँको घिरिङ गाउँपालिका–३ डाँडाथोकमा कुटपिटको अभियोगमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा छन् ।

डाँडाथोकमा विवाहको भोजमा भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाका युवाबीच झगडा भएकामा भिमाद नगरपालिका–४ बस्ने १४ वर्षीय निशान रानासमेतलाई कुटपिट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय जनाएको छ । कुटपिटबाट घाइते चारको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।