कृषि

कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी मुख्यमन्त्री कृषि कार्यक्रम

डोटी । जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नाराका साथ जिल्लाका सो कार्यक्रम कार्यान्वयनका लागि चालू आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ ।

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडमार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको र उखु र चैतेधानको बीउ पनि वितरण गरिने उक्त मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले जानकारी दिए । एक बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र बीउ शतप्रतिशत अनुदानमा वितरण गर्ने मापदण्ड बनाइएको उनको भनाइ थियो ।