समाचार

जग्गा उपलब्ध गराउनुुस् लगानी म गर्छुः आयुर्वेद शिरोमणि बालकृष्ण

वालिङ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताए ।

जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताए । मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,” आचार्य बालकृष्णले भने, “तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ अरू लगानीका लागि कुनै चिन्ता छैन योजना सफल बनाउन एक सय करोड होइन त्यो भन्दा पनि बढी म खर्च गर्छु ।”

वालिङ उद्योग वाणिज्य सङ्घले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र उनलाई बुझाएको थियो । आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै सङ्घलाई जग्गा उपलब्ध गराउन आग्रह गरे । वालिङ नगरपालिका–६ भरुवामा जन्मिएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गरेका थिए।