समाचार

बलात्कारपछि हत्या गरिएकी निर्मलाका नाममा ‘निर्मला बाल उद्यान’को शिलान्यास

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा आज बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा ‘निर्मला बाल उद्यान’को शिलान्यास गरिएको छ र वडा कार्यालयको सहयोगमा निर्माण हुन लागेको सो उद्यानको मूल ढोकामै निर्मलाको नाम लेखिने वडाध्यक्ष डम्बर कार्कीले बताए । उद्यानका लागि उनले अध्ययन गर्ने सो विद्यालयले दुई कट्ठा जग्गा उपलब्ध गराएको छ । वडा कार्यालयको लगानीमा रु १२ लाख ४३ हजारमा बन्ने उद्यानका लागि चालू आवमा रु पाँच लाख बजेट लिएर काम थालिएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

वडाध्यक्ष र निर्मलाकी आमा दुर्गादेवीले सो उद्यानको संयुक्तरुपमा शिलान्यास गरेका थिए । शिलान्यसपछि दुर्गादेवीले छोरी नभए पनि सम्झनामा उद्यानका लागि सहयोगी सबैप्रति आभार प्रकट गरिन् । विद्यालयका शिक्षक नवराज पन्तले निर्मलाको सम्झनाका लागि बन्ने उद्यानको दीर्घकालीन व्यवस्थापनका लागि पहल हुनुपर्नेमा जोड दिए । निर्मला हत्या प्रकरण भएको छ महीनाभन्दा बढी समय बिते पनि घटनाको अनुसन्धानका लागि प्रहरीका विभिन्न टोली यहाँ परिचालित छन् ।