सूचना प्रविधि

मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस् प्रहरीले भेट्टाएर दिन्छ

भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको चनी निवेदन दिए ।

प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो । मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनिधि भट्टको भिभो भि नाइन मोबाइल सेट स्थानीय निष्ट स्कुल नजिक हरायो । उनले पनि गत माघ ३ गते मोबाइल सेट हराएको निवेदन थिमि वृत्तमा दिए । प्रहरीले अनुसन्धानका क्रममा सो मोबाइल सेट १० दिनपछि लोकन्थलीबाटै फेला पारी भट्टलाई गत माघ १४ गते बुझायो ।

त्यसैगरी मध्यपुर थिमि राधेराधे बस्ने मोहनकृष्ण खनालको सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल सेट गत पुस २० गते मध्यपुर अस्पताल हाताबाटै हरायो । सो मोबाइल प्रहरीले २० दिनपछि काठमाडौँंको नयाँ बानेश्वरमा फेला पारी गत माघ ११ गते खनाललाई बुझायो ।

महानगरीय प्रहरी वृत्त थिमिले चालु आर्थिक वर्ष २०७५÷७६ मा मात्र ३५ वटा हराएका मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको छ । वृत्तका अनुसार हप्तामा दुई÷चार वटा मोबाइल हराएका निवेदन आउने गरेको छ ।

हराएकामध्ये महीनामा पाँच÷सातवटा मोबाइल फेला पर्ने गरेको छ । प्रहरीले हराएको मोबाइलका सम्बन्धमा निवेदन लिनका लागि मोबाइल सेटको प्रकार र मोबाइल सेटमा हुने आइओएमआई नम्बरसहितको विवरण उल्लेख भएको निवेदनको ढाँचा नै तयार गरी लागू गरेको छ ।

पीडितले सो निवेदन भरेर दिएपछि निवेदनलाई प्रहरीको अपराध महाशाखा टेकुमा अनुसन्धान र खोजतलासको लागि पठाउने गरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार मोबाइलको खोजी र अनुसन्धान गर्न नेपाल प्रहरीले हाललाई अपराध महाशाखामा मात्र युनिट खोलेको छ । मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीसँग पनि सहकार्य र समन्वय गर्नुपर्ने र मोबाइल खोजीको प्रविधिका कारण पनि हाललाई महाशाखामार्फत मोबाइलको खोजी तथा अनुसन्धान गर्ने गरिएको उनले बताए ।

मोबाइल हराएको निवेदनका आधारमा खोज तथा अनुसन्धान गर्ने र फेला परेपछि कुन प्रकृतिबाट हराएको सो अनुसार कारवाही अघि बढाउने गरेको प्रनाउ केसीले बताए । “मोबाइल धनीले हराएको भनी निवेदन दिएको छ भने फेला परेपछि मोबाइल धनीलाई बोलाएर हस्तान्तरण गर्छौं ।

चोरी भएको निवेदन हो भने चोरी मुद्दा दायर गरी कारबाही अघि बढाउने गरेका छौँ,” उनले भने,“वृत्तका अनुसार हाल छ वटा मोबाइल चोरीका मुद्दा दायर भएर अदालतमा विचाराधीन रहेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले परिसर र परिसर मातहतका जिल्लाका दुई प्रहरी वृत्तमा गरी सरदर दैनिक एक मोबाइल हराएका निवेदन पर्ने गरेको जानकारी दिए । त्यसमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फेला पर्ने गरेको उनले बताए ।

मोवाइल हराएका घटना हेर्दा सामान्य देखिए पनि प्रहरीले त्यस्ता निवेदनको निरन्तर छानबिन र खोजी कार्य जारी राख्ने गरेको प्रनाउ पोखरेलले बताए । “हेर्दा सामान्य देखिएपनि मोबाइल हराएको निवेदनमा प्रहरीले निरन्तर खोजी जारी राख्ने गरेको छ । त्यसैको परिणाम मोबाइल हराएको छ महीनापछि पनि फेला परेका उदाहरण छन्,” उनले भने ।