सुदूरपश्चिम

अधिकांशको रोजाइमा च्याउका परिकार

लम्की । टीकापुर महोत्सव अवलोकन गर्न आउने अधिकांशको रोजाइमा च्याउका परिकार रहेको पाइएको छ । च्याउका परिकार प्रवद्र्धनका लागि राखिएको ‘स्वादिलो च्याउ कर्नर’मा पाँच दिनमा दुई हजार ५०० भन्दा बढी अवलोकनकर्ताले च्याउको मःम खाएका छन् ।

शिव थापा र सिर्जना चौधरीले संयुक्तरूपमा सञ्चालन गरेको च्याउ कर्नरमा मःम खानेको भीड लाग्ने गरेको छ । च्याउ कर्नरमा मःम मात्र नभई च्याउको सुप, पकौडा, अचार, चाउमिनलगायत परिकार पाइन्छ । च्याउ कर्नरलाई आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले निःशुल्क रुपमा कक्ष उपलब्ध गराएको छ । टीकापुरलाई च्याउका परिकारले चिनाउने उद्देश्यले दुई महीनाअघि यहाँ च्याउका विभिन्न परिकारसहित होटल सञ्चालनमा आएको थियो ।

च्याउबाट मःम, सुप, पकौडा, अचार, मसरुम चाउमिनलगायतका परिकार बनाउन थालिएको छ । सञ्चालक चौधरीले च्याउको खीर पनि बनाउन सकिने बताए । “रानीजमरा, कुलरिया सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले किसानलाई च्याउखेतीका लागि सघाएपछि च्याउ उत्पादनमा वृद्धि भएको छ । यही च्याउको खपतका लागि च्याउका परिकार बनाउन थालेका हौँ”, उनले भने ।

सिर्जना आफैँले च्याउखेती गर्दै आएका छन् । अपुग च्याउ अन्य व्यापारीबाट खरीद गर्नुहुन्छ । “हाल दैनिक ५० किलो च्याउ खपत हुन थालेको छ । ग्राहकले च्याउको परिकार निकै रुचाएका छन् ।” महोत्सवमा आउने अवलोकनकर्ताले च्याउको परिकार अत्यधिक रुचाउने गरका अर्का सञ्चालक थापाले बताए । उनले भने, “एकपटक खाइसकेपछि च्याउको स्वाद धेरैलाई मन परेको छ । च्याउको परिकार स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।”

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष परशुराम चपाईंले पछिल्लो समय च्याउका परिकार खानेको सङ्ख्या बढ्दै गएको बताए । उनले भने, “स्थानीय उत्पादन र व्यवसायीलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवमा निःशुल्क कक्ष उपलब्ध गराएका हौँ । नयाँ व्यवसाय गर्ने व्यापारीको व्यवसाय विस्तारमा हामी सधैँ सहयोगी रहन्छौँ ।”

किसानले उत्पादन गरेको च्याउको बजारीकरण गर्नुका साथै च्याउबाट बन्ने परिकारको प्रचार गर्न र युवालाई व्यावसायिकतातर्फ आकर्षित गर्नु आवश्यक रहेको टीकापुर नगरपालिका कृषि शाखाका प्रमुख गौरीशङ्कर गुप्ताले बताए । उनले भने, “सिँचाइ आयोजना र मागका आधारमा च्याउखेतीमा झण्डै ३०० किसानलाई अनुदान दिएका छौँ ।” च्याउखेती मात्र नभई त्यसका परिकार पनि बेच्न नयाँ सोचका साथ फरक ढङ्गले व्यवसाय शुरु गरिएकाले अब च्याउलाई वर्षैभरि उपलब्ध गराउन च्याउ सुकाउने यन्त्र भित्र्याउने योजना छ । सञ्चालक थापा भारतबाट च्याउ सुकाउने यन्त्र ल्याउने बताए ।

थापा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट टीकापुर नगरपालिकाको नगर प्रमुखमा पराजित भएका थिए । माओवादी पूर्वलडाकुसमेत रहनुभएका उनले आठ वर्षदेखि टीकापुरमा व्यावसायिक रुपमा पशुपालनसमेत गर्दै आएका छन् । सिर्जना चौधरी पनि माओवादीको पूर्वलडाकु हुनुहुन्छ । माघ १८ गतेदेखि शुरु भएको टीकापुर महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।