प्रदेश 2

जातजाति, वेशभूषा र संस्कृतिको पहिचान, संरक्षण र प्रवर्धनमा सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सबै जातजाति, वेशभूषा र संस्कृतिको पहिचान, संरक्षण र प्रवर्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

तामाङ जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछारका अवसरमा सिरहाको गोलबजारमा आज आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशभित्रका सबै जातजाति, वेशभूषा र संस्कृतिको संरक्षण प्रवर्धनका लागि योजना बनाइ रहेको बताए ।

कुनै जाति, धर्म वा सांस्कृतिक पर्वमा एकदिन बिदा दिँदैमा विकास निर्माणमा बाधा नहुने भन्दै उनले देश विकासको मुख्य बाधक भ्रष्टाचार र ढिलासुस्ती तथा व्यभिचार भएकाले यसको अन्त्य जरुरी रहेको बताए।

प्रदेश सरकारले बनाएको प्रहरी ऐन तथा निजामती ऐनले महिलालाई ५० प्रतिशत आरक्षण व्यवस्था गरेको उल्लेख गर्दै उनले अब छोरीले पढेर बेरोजगार भएर वस्न नपर्ने दावी गरे ।
प्रदेश नं २ मा सबैभन्दा धेरै बढी दलित रहेको भन्दै दलित विद्यार्थीको लागि आवास र खानपिनको व्यवस्थासहितको उच्च शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको मुख्यमन्त्रीले जानकारी दिए ।

तीन दिनसम्म चल्ने सांस्कृतिक कार्यक्रममा वरिष्ठ कलाकार मनोज गजुरेल, बुद्ध लामा, राजेशपायल राई, सन्तोष लामालगायत कलाकारले आ–आफ्ना प्रस्तुती दिने कार्यक्रम रहेको ल्होसार मूल आयोजक समितिका अध्यक्ष नवीन लामाले जानकारी दिए ।