अन्तर्राष्ट्रिय

भीषण झडपमा दश सैनिकको मृत्यु

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार तालिबान लडाकू र सेनाबीच रातभर भएको भीषण झडपमा परी कम्तीमा १० अफगान सैनिकको मृत्यु भएको छ ।

यस झडपमा आठ जना तालिबान लडाकू पनि मारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरतर्फको इलाकामा उक्त झडप भएको थियो ।

यस भिडन्तमा पाँच सैनिक र कैयौँ आतङ्ककारी मारिएको सरकारी समाचार स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएका छन् । प्रान्तीय परिषदका एक अधिकारी युसुफ अयुबीले यस घटनाको पुष्टि गरेका छन् ।

सन् २०१४ को अन्त्यमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्ध सैनिकहरु अफगानिस्तानमा प्रत्यक्ष सहभागी हुन छोडेपछि त्यहाँ सुरक्षाकर्मीको हताहतीको सङ्ख्यामा बृद्धि भएको पाइन्छ ।

अफगान सेनाले देशभर जारी राखेको कारबाहीको क्रममा तालिबान, इस्लामिक स्टेट्सलगायतका लडाकूहरु हताहत भएका र उनीहरुले कब्जामा लिएका कैयौँ स्थानहरु भने अफगान सरकारको नियन्त्रणमा आइसकेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।