समाचार

उपप्रधानमन्त्री यादवद्वारा सोनाम ल्होछारको शुभकामना

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सोनाम ल्होछार पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज एक शुभकामना विज्ञप्तिमार्फत तामाङ समुदायको सोनाम ल्होछार र शेर्पालगायत हिमाली समुदायको ग्याल्बो ल्होछारको अवसरमा सम्पूर्ण ल्होछारप्रेमी समुदायमा शुभकामना व्यक्त गरेका हुन् ।

मुलुकमा सबै जातजातिको सम्मानजनक उपस्थिति र राज्यमा पहुँच स्थापना गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा सरकार रहेको बताउँदै उपप्रधानमन्त्री यादवले बहुरङ्गी संस्कृतिका अवस्थालाई मिलाएर अघि बढ्न सकेमात्रै राजनीतिक स्थिरता, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने विचार व्यक्त गरेका छन् ।

यस अवसरमा उनले सबै जातजातिको साझा फूलबारीका रुपमा मुलुकलाई स्थापित गर्र्न मुलुक निर्माणमा सबैले अपनत्व महसुस गर्नुपर्ने आह्वान गरेका छन् । उपप्रधानमन्त्री यादवले असमानता, विभेद, उत्पीडनको अन्त्यका लागि निरन्तर रुपमा अघि बढ्न र राष्ट्र निर्माणमा सघाउन ल्होछारको अवसरमा सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।