प्रदेश 2

प्रदेश सरकार र प्रदेशसभा महिलामैत्री नभएको गुनासो

महोत्तरी । प्रदेश नं २ को सरकार र प्रदेशसभा महिलामैत्री नभएको गुनासो प्रदेशसभा सदस्य शारदादेवी थापाले गरेका छन् । महोत्तरी क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य थापाले प्रदेशसभामा उपसभामुख र प्रदेश सरकारमा दुई राज्यमन्त्रीमा मात्र महिलालाई सीमित राखिएकाले दुवै ठाउँ महिलामैत्री हुन नसकेको बताए ।

प्रदेशसभामा गठित विभिन्न पार्टीका संसदीय दलका नेता र सचेतकमा समेत पुरुषलाई मात्र स्थान दिई महिलामाथि विभेद कायमै राखेको आरोप लगाउँदै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १०७ मध्ये ३७ महिला सांसदले महिलामैत्री अभियान लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । यस्ता अभियानले मात्र प्रदेशभरिमा भइरहेका महिला र घरेलु हिंसा न्यूनीकरणमा सहयोग पुग्ने जिकिर उनले गरे ।

तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित सांसद थापाले एक अर्को प्रसङ्गमा ‘बेटी बचाऔँ बेटी पढाऔं’ र ‘बेटी बीमा अभियान’लाई सार्थक तुल्याउनका लागि आफ्नो पार्टी प्रतिपक्षमा भए पनि सकारात्मक सहयोगको भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे । महिलामुक्ति अभियानका रुपमा प्रदेश सरकारले ल्याएको ती कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सक्रिय भएर लाग्न उनले सबैमा आग्रह गरे ।