समाचार

उद्धार गरिएकी बङ्गलादेशीको पुनःस्थापनाको पहल

परासी । सडकमा बच्चा जन्माइरहेको अवस्थामा पाँच महीनाअघि उद्धार गरिएकी एक बङ्गलादेशी महिलाको सफल उपचार भएको छ । उपचार सफल भएपछि उनको पुनःस्थापनाको लागि पहल पनि शुरु भएको छ । बङ्गलादेशको मानिकगञ्ज नजिकै माइत र आरिसा घर बताउने ३५ वर्षीया शलमा खानलाई भदौ १० गते पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित गोबरहिया प्रहरीचौकी नजिकैबाट उद्धार गरिएको थियो ।  सडकमै बच्चा जन्माएर सालनालसमेत नकाटिएको अवस्थामा फेलापरेपछि बच्चासहित ती महिलाको जिल्ला प्रहरी कार्यालय नवलपरासीले उद्धार गरी जिल्ला अस्पताल पुराएको थियो ।

मानसिक सन्तुलन गुमाएकी ती महिलाको रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा कोशीस नेपाल ललितपुरमा स्वास्थ्य उपचारका लागि पठाइएको थियो भने बच्चालाई जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा नर्स र महिला प्रहरीको रेखदेखमा संरक्षण गरिएको रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुँवरले बताए । चार महीना ११ दिनको मानसिक उपचार पश्चात् ती महिला पूर्ण स्वस्थ अवस्थामा फर्केको कोशिस नेपालकी सामाजिक कार्यकर्ता मञ्जु क्षेत्रीले बताए । “मानसिक सन्तुलन गुमाइसकेकी ती महिला छिट्टै स्वस्थ हुँदा निकै खुशी लागेको छ,” उनले भने ।

अहिले परासीस्थित अल्पकालीन आश्रयस्थल सेवा केन्द्रमा उनलाई आश्रय दिइएको छ । उनलाई अस्पतालको संरक्षणमा राखिएको छोरासँग पनि भेट गराइएको छ । पाँच महीनापछि छोरालाई भेट्न पाउँदा शलमामा खुशीको उमङ्ग छाएको थियो । अब उनलाई आफ्नै देश फर्काउन काठमाडौँस्थित बङ्गलादेश दूतावासमार्फत पहल भइरहेको छ । त्यसका लागि दूतावासका अधिकारीसँग कुराकानी भइरहेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले बताए। ती महिलाले आफू अर्धचेत अवस्थामै एक वर्षअघि बङ्गलादेशबाट भारतहुँदै नेपाल आएको बताए ।

श्रीमान् आसान खानले बङ्गलादेशमा खुर्सानीको व्यापार गर्दै आएको बताउँदै उहाँले आफ्नो त्यहाँ तीन जना छोरी र पहिलो श्रीमतीको चार जना छोरी रहेको बताए । पहिलो श्रीमतीको मृत्युपछि श्रीमान्ले आफूलाई विवाह गरेको तर आर्थिक अवस्था कमजोर भएकाले ६ महीनाकी कान्छी छोरीलाई अर्कैले पाल्न लगेपछि चिन्ताले आफू मानसिक रोगी हुन पुगेको ती महिलाको भनाइ छ । बस चढेर नेपाल आएको बताउने ती महिलाले आफूलाई छिटो घर जाने वातावरण बनाइदिन आग्रह पनि गरेका छन् । दूतावासमार्फत ती महिलालाई पुनःस्थापना गरिने उल्लेख गर्दै रामग्राम नगर उपप्रमुख कुँवरले भने,“हामीले पहल गरिरहेका छौँ, उनलाई पुनःस्थापनाका लागि नेपाल सरकार तथा दूतावासबाट सहयोग हुने अपेक्षा पनि छ ।”