समाचार

संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता हो- राष्ट्रपति

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको बताएकी छन् । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षका अवसरमा आज देवघाटमा आयोजित देवघाट विराट् ज्ञानमहायज्ञ २०७५ एवं ज्ञानसभालाई सम्बोधन गर्दै उनले संस्कृत शिक्षाप्रति युवा वर्गलाई आकर्षण गर्नुपर्नेमा जोड दिइन् ।

गुरुकुल शिक्षा प्रणाली आजको शिक्षाको जग भएको बताउँदै उनले गुरुकुुुुल शिक्षा अनुकूलको नैतिक आचरण, व्यवहार र अनुशासनले मानिसको जीवनलाई सधैँ समाज कल्याण उन्मुख बनाउँदै मानवीय सद्भाव, प्रेम र भातृत्व अभिवृद्धि गराउन सहयोग पु¥याउने छ भनीन् ।मानव जीवनलाई भौतिक र मानसिक रुपमा सुखी र सुखी तुल्याउने संस्कृत वाङ्मयका सूत्रहरु बहुमूल्य रहेको बताउँदै उनले भनीन् “गुरुकुल शिक्षा ओझेलमा राख्दा हाम्रो सभ्यता, संस्कृति र पहिचान उजागर गर्न कठिनाइ पर्न सक्छ ।” उनले गुरुशिष्य परम्परामा आधारित गुरुकुल शिक्षाले ज्ञान प्रवाहमा महत्वपूर्ण योगदान दिएकाले यसको सम्वद्र्धन हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले भनीन्, “गुरुकुुुुल शिक्षाले चरित्रवान्, शिक्षित नागरिक बनाउन सहयोग पुग्ने हुँदा समाजमा यसको ठूलो महत्व छ ।”

पवित्र तीर्थस्थल देवघाटधामलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्न सकिने प्रशस्त सम्भावना रहेको हुँदा यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताइन् । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देवघाट क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिने बताए ।

गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले वैदिक धर्मको प्रचारप्रसार राष्ट्रको विकासमा बाधा नभएर साधक हुने बताए । हरिहर सन्न्यास आश्रमका पीठाधीश एवं नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले धर्मनिरपेक्ष घोषणा गर्दा साधुसन्तलाई सोधपुछ नगरिएको भनी दुःख प्रकट गरे । महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले गुरुकुुुुलका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सांसद किसान श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायतले बोलेका थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले गुरुकूलमा नवनिर्मित ४२ कोठे भवनको उद्घाटन गरेका थिए । पैँतीस दाताले आआफ्ना पितृको सम्झनामा हरेकले एउटा कोठा निर्माण गरेका हुन् । बाँकी रकम विश्वविद्यालय अनुदान कोषले खर्च गरी रु चार करोड ५० लाखमा भवन निर्माण गरिएको हो । भवनमा गुरुकुलका कक्षा ६ देखि आचार्य तहसम्मका कक्षा सञ्चालन हुनेछन् ।

विसं २०५० मा डा स्वामी रामानन्द गिरीले आश्रम र गुरुकुुुुल सञ्चालन ल्याएका हुन् । उनको एक वर्षअघि निधन भएको थियो । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायणका गरिने छ । साथै चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष हवन गरिने महायज्ञ मूलआयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताए । महायज्ञ आगामी फागुन १ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा स्वदेश र विदेशबाट ठूलो सङ्ख्यामा सन्त, महन्त र भक्तजन आएका छन् ।