पु.समाचार

स्ववियु निर्वाचन निर्धारित मितिमै नगरे आन्दोलन गर्छौः अध्यक्ष यादव

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ ।

सङ्गठनका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी राजनीतिसँग जोडिएको स्ववियु निर्वाचन तोकिएकै मितिमा हुनपर्ने माग गरेका हुन् । स्ववियु निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै अध्यक्ष यादवले निर्धारित मितिमा निर्वाचन नभए आफ्नो सङ्गठन आन्दोलनमा जाने बताए ।

देशमा सबै तहको चुनाव सम्पन्न भइसकेको अवस्थामा विद्यार्थीको निर्वाचन रोक्नु उपयुक्त नहुने भन्दै स्ववियु निर्वाचनमा जुट्न सबै विद्यार्थी सङ्गठनसँग उनले आग्रहसमेत गरे।

पछिल्लो एक दशकयता स्ववियु निर्वाचन नगराउँदा विद्यार्थी राजनीतिको लागि दुर्भाग्य र दुःखद् भएको भन्दै अध्यक्ष यादवले विद्यार्थीबीचमा नेतृत्व सिक्ने र सिकाइने थलोका रुपमा रहेको स्ववियु निर्वाचन निर्धारित समयमा गराउनु आवश्यक रहेको जिकिरसमेत गरे ।

गत पुस २३ गते नै त्रिभुवन विश्वविद्यालय मातहतका सबै आङ्गिक क्याम्पसमा स्ववियु चुनाव गर्न त्रिविले परिपत्र गरिसकेको अवस्थामा अहिलेसम्म विद्यार्थी सङ्गठनलाई बोलाएर यसबारेमा कुनै छलफलसमेत नगरिएको स्पष्ट पारे ।