प्रदेश 1

धनकिरणको साङ्गीतिक अवतारमा फागुन ३ गते

भद्रपुर । बेलायतको फक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङलाई आगामी फागुन ३ गते काँकडभिट्टामा साङ्गीतिक अवतारमा देख्न पाइने भएको छ । झापाको मेचीनगर–६ काँकडभिट्टामा घर भएका उहाँ बेलायतमा काउन्सिलर निर्वाचित हुने प्रथम नेपाली छन् । बेलायती गोर्खा सैनिकको १८ वर्षे जीवन गुजारेका उहाँलाई काउन्सिलर बनेपछि राजनीतिक अवतारमा देख्न पाइएको थियो । फौजी र राजनीतिक अवतारपछि अब उहाँलाई साङ्गीतिक अवतारमा देख्न पाइने भएको हो ।

द गोर्खा मेमोरियल फाउण्डेशन नेपाल र काँकडभिट्टा भेट्रान फुटबल क्लबको संयुक्त आयोजनामा फागुन ३ गते ‘धनकिरण गुरुङ, गोर्खा साङ्गीतिक साँझ’ हुन लागेको छ । कार्यक्रममा पूर्व काउन्सिलर गुरुङले आफैँ गिटार बजाउँदै आफ्नो सुमधुर स्वरले नेपाली सङ्गीतप्रेमीलाई ‘फ्यान’ बनाउने छन् ।

कार्यक्रम काँकडभिट्टा मावि मैदानमा साँझपख हुनेछ । प्रवेशका लागि रु एक हजार, ५००, र १०० दरका टिकट लाग्ने आयोजकले जानकारी दिएको छ । ‘कन्सर्ट’मा भाग लिन धनकिरण बेलायतबाट झापा आइसकेका छन् । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी कन्सर्टबारेमा उनले जानकारी दिएका थिए । उनले कन्सर्टबाट सङ्कलन हुने सम्पूर्ण रकम स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद र विपद् व्यवस्थापनका निम्ति प्रदान गर्ने घोषणा गरेका छन् ।  कार्यक्रममा युवाको ढुकढुकी एवं चर्चित गायिका मेलिना राई र लोकप्रिय हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलसमेत आउने छन् ।