शिक्षा

गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिकाले विद्यालयस्तरीय परीक्षा आफँैले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिकसत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी उपप्रमुख जुनिता मगरले जानकारी दिए। उक्त परीक्षा सञ्चालन गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा पाँच सदस्यीय परीक्षा समिति गठन गरिएको छ । गठित समितिले परीक्षा मिति र प्रश्नपत्र तयार पार्ने छ ।

“शैक्षिक गुणस्तरवृद्धि गर्ने उद्देश्यले पालिकाभरि एकैपटक परीक्षा सञ्चालन गर्ने निर्णय गरेका हौँ”, उपप्रमुख मगरले भने, “यसले शिक्षामा एकरुपता ल्याउन सहयोग पुग्ने हाम्रो विश्वास छ ।” उनका अनुसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो क्रममा रहेको भन्दै निजी विद्यालयतर्फ अधिकांशको आकर्षण बढेकाले त्यसको न्यूनीकरण गर्ने प्रयासस्वरुप पालिकाले परीक्षा सञ्चालन गर्ने भएको हो । परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई क्रमशः नगद रु १० हजार, आठ हजार र छ हजार प्रदान गरिने उपप्रमुख मगरले जानकारी दिए ।

यस्तै कक्षा ८ बाट सहभागी विद्यार्थीले ल्याएको उत्कृष्ट अङ्क, विद्यार्थी सङ्ख्यालगायतलाई मूल्याङ्कन गरी तीन विद्यालयलाई संस्थागत नगद रु ५० हजार, ४० हजार र ३० हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ । विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीलाई समेत उत्प्रेरित गर्ने उद्देश्यले पुरस्कार राशि निर्धारण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले सञ्चालन गर्ने परीक्षामा कक्षा ५ का लागि २१ र कक्षा ८ का लागि १३ विद्यालयका करीब ६०० विद्यार्थीले सहभागिता जनाउने बताइएको छ ।

बैठकले प्राविधिक र व्यावसायिक शिक्षा सञ्चालनका लागि दीर्घकालीन योजना निर्माण गर्ने निर्णय गरेको छ । यो शैक्षिकसत्रमा पालिकास्तरीय परीक्षा सञ्चालनको निर्णय गर्ने माप्यदूधकोशी जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । शैक्षिकसत्र २०७४ मा थुलुङदूधकोशी गाउँपालिकाले पहिलोपटक कक्षा ८ को परीक्षा लिएको थियो । तर, यो वर्ष भने उक्त गाउँपालिकाले त्यससम्बन्धी कुनै पनि निर्णय गरेको छैन । शिक्षामा सुधार ल्याउने भन्दै गाउँपालिकाले शिक्षा ऐन पारित गरेर काम गरिरहेको भए पनि सुधार हुन नसकेको अभिभावक बताउँछन् । थुलुङदूधकोशी गाउँपालिका–८ का कुलबहादुर राईले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले सशक्त कदम चाल्नुपर्ने बताए ।