स्वास्थ्य

शल्यक्रियासम्बन्धी सम्झौता

तुलसीपुर । मोतियाविन्दुरहित उपमहानगरपालिका बनाउने अभियान यहाँ पहिलोपटक शुरु भएको छ । यसका लागि आँखा जाँच र आँखा शिविर सञ्चालन गर्न यहाँको आँखा अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच सोमबार सम्झौता भएको छ ।

जिल्लामा रहेका १० स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले ‘मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता गरेको हो । सङ्घका अध्यक्ष कृष्णकुमार गिरी र नगरप्रमुख घनश्याम पाण्डेबीच सो सम्बन्धी सम्झौता भएको स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दहालले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ बाट सञ्चालन हुने कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र १९ वटै वडामा आँखा जाँच गरी उक्त रोगका बिरामीको शल्यक्रिया गर्ने सहमति भएको नगरप्रमुख पाण्डेले जानकारी दिए। सो कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकाले यस आर्थिक वर्षमा रु १५ लाख बजेट छुट्याएको छ । मोतियाविन्दुलाई स्थानीय सरकारको सहयोगविना हटाउन र दृष्टिविहीनताको व्यापकतालाई न्यूनीकरण गर्न सम्भव नभएकाले साझेदारी कार्यक्रम सञ्चालन गरेको सङ्घका सभापति गिरीले बताए ।