पर्यटन/संस्कृति

देवघाटमा विराट ज्ञानमहायज्ञ आजदेखि, प्रभाबकारीप्रचारका लागि ६० जिल्लामा उपसमिति

चितवन। पवित्र तीर्थस्थल देवघाटमा मङ्गलबारदेखि विराट ज्ञानमहायज्ञ महेश सन्यास आश्रमको आयोजनामा गर्न लागिएको छ । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायण गरिनेछ ।

महायज्ञमा चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष्यहवन गरिने महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताए ।

महासङ्घ प्रचारप्रसार समितिका संयोजक टङ्कनाथ पौडेलका अनुसार महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीको अध्यक्षतामा एक हजार आठ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ । यस्तै ६० जिल्लामा उपसमिति गठन गरी प्रचारप्रसारलाई व्यापक बनाइएको छ ।

महायज्ञ मूल आयोजक समितिका सचिव ध्रुव अधिकारीका अनुसार वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०५० मा स्थापना भएको गुरुकूलमा महायज्ञ आयोजना गर्न लागिएको हो ।

महायज्ञमा प्रमुख कथा वाचकका रुपमा आश्रमका पिठाधीश १००८ स्वामी रमणानन्द गिरि रहनुभएको छ । सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३०० जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो ।