राजनीति

वाईडबडीमा अरबौं रुपैयाँ भ्रष्टाचार हुंदा ओली सरकार गम्भिर हुनुपर्छः नेता थापा

पोखरा । नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्धारित कार्यक्रमअन्तर्गत काङ्ग्रेस कास्कीले आज पोखरामा विरोध प्रदर्शन गरेको छ ।

पोखराको पृथ्वीचोकबाट शुरु विरोध ¥याली महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले देशमा हत्या हिंसा आतङ्क बढे पनि सरकारले त्यसको नियन्त्रण गर्न नसकेको बताए । उनले सरकारले संसद्जस्तो गरिमामय संस्थालाई मातहतको मन्त्रालयजस्तै बनाएको आरोप लगाए । वाईडबडी भ्रष्टाचारमा सरकार मौन बस्नु शंकास्पद भएको बताउँदै अरबौं रुपैयाँको अपचलनमा ओली सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य जीवन परियारले निर्मला हत्याकाण्डजस्ता जघन्य घटनामा सरकारले पीडितलाई न्याय दिन नसकेको बताए । पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतान्त्रिक मूल्य मान्यताको जगेर्नाका साथै संसदीय सर्वोच्चताको रक्षाका लागि काङ्ग्रेस सधैँ दृढ रहेको स्पष्ट पारे ।

कार्यक्रममा काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ, नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाट, प्रदेशसभा सदस्यद्वय कुमार खड्का र विन्दुकुमार थापालगायतले सुशासन, लोकतन्त्रका विरुद्धमा हुने जस्तासुकै गतिविधिका विरोधमा काङ्ग्रेसले सशक्तरुपमा प्रतिवाद गर्ने धारणा व्यक्त गरे ।