राजनीति

ओली सरकारका मन्त्रीहरु जनताका काममा भन्दा फोटो खिचाउन व्यस्तः वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले सरकारका मन्त्रीहरु काममा भन्दा फोटो खिचाउनमा मात्रै व्यस्त रहेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास अवरुद्ध पारेर सरकारले सोचेको समृद्धि पूरा नहुने बताए । वरिष्ठ नेता पौडेलले शान्ति सुरक्षा, विकास र सुशासनमा सरकार असफल भएको बताए ।

उनले भने, “सुनकाण्डका ठूला माछा कहाँ गएँ, वाइड बडीमा भ्रष्टाचार गर्ने कहाँ छन् ? उनीहरुलाई बचाउन खोजिएको आभास हुँदैछ ।” वरिष्ठ नेता पौडेलले अख्तियार र सर्वोच्च अदालतलाई तर्साएर सरकारले आफूखुशी काम गर्न थालेको आरोप लगाउनुभयो । उनले भने, “दश हजार घुस खाने पक्राउ पर्छन्, तर अर्बौंको भ्रष्टाचार गर्नेलाई छुट दिइएको छ ।”

काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताए । उनले दुई तिहाइ सरकारलाई असफल हुने छुट नरहेको भन्दै सरकारले राम्रो काम गर्नुपर्ने बताए । प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर नभएसम्म काङ्ग्रेसले आन्दोलन जारी राख्ने नेता पौडेलले बताए ।