राजनीति

अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई

काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुनरपुष्टि गरेका छन् ।

संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग रहेको बताउँदै विगतका दिनदेखि नै प्रष्ट रहेको नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने बताए।

उनले सार्वभौमसत्ता सम्पन्नमुलुक भेनेजुयलाकोे समस्या त्यहाँका जनताबाट नै समाधान हुनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताए । नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनापछि नेपालको विकासका लागि अमेरिकाले आर्थिक, शैक्षिक, ऊर्जा धेरै क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै यसले दुई मुलुकबीच कुनै समस्या नआउने उनले बताए ।