गण्डकी प्रदेश

होटल, रेष्टुराँ स्तरीकरण

बागलुङ । खाद्य स्वच्छताको आधारमा यहाँका होटल तथा रेष्टुराँको स्तरीकरण शुरु गरिएको छ । होटल तथा रेष्टुराँ व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङले स्तरीकरण गर्न थालेको हो । पहिलो चरणमा आइतबार सदरमुकामस्थित चार होटल र एक रेष्टुराँलाई स्तरीकरण गरिएको कार्यालयका निमित्त प्रमुख केदार पौडेलले बताए । स्तरीकरणमा होटल पिस प्यालेस, हिल भ्यू, दि राजन र शीतल पार्टी प्यालेस ‘ग’ वर्गमा परेका छन् ।

यस्तै गोविन्दाज शाकाहारी भोजनालय पनि ‘ग’ वर्गमा परेको छ । खाद्य स्वच्छतास्तर सन्तोषजनक भएका होटल, रेष्टुराँमा ‘ग’ सँगै ‘सन्तोषजनक’ लेखिएको एकतारे हरियो रङ्गको ‘स्टिकर’ टाँस्ने गरिएको छ । खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुराँ स्तरीकण गर्ने निर्देशिका–२०७४ अनुसार गरिएको मुल्याङ्कनका आधारमा स्वच्छताको स्तर छुट्याउने गरिएको छ । बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारी संयोजक रहेको स्थानीय खाद्य स्वच्छता समूहले अनुगमन तथा मूल्याङ्कन गर्ने गरेको हो । समितिमा कार्यालयका खाद्य अधिकृत, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष लगायत छन् । “खाद्य स्वच्छता बढाउन उत्प्रेरित गर्ने उद्देश्यले होटल, रेष्टुराँको वर्गीकरण शुरु गरिएको हो”, निमित्त प्रमुख पौडेलले भने । उनका अनुसार कानूनीरूपमा दर्ता भएका होटल तथा रेष्टुराँलाई मात्र स्तरीकरण गर्ने गरिएको छ । जिल्लामा सञ्चालित सबै होटल, रेष्टुराँको वर्गीकरण गर्ने कार्यालयको योजना छ । वर्गीकरणले व्यवसायीलाई गुणस्तर कायम गर्न सचेत बनाएको सङ्घका अध्यक्ष राजभण्डारीले बताए । “होटल, रेष्टुराँको स्तरवृद्धिमा यसले सकारात्मक दबाब बढाउँछ”, उनले भने, “यसलाई निरन्तरता दिनुपर्छ ।”

निर्देशिकाअनुसार खाद्य स्वच्छतास्तर अति उत्तम भएका होटल, रेष्टुराँमा ‘क’ वर्गको तीन तारे हरियो ‘स्टिकर’ टाँस्ने गरिएको छ । यस्तै उत्तम भएकमा ‘ख’ वर्गको दुईतारे हरियो ‘स्टिकर’ र सन्तोषजनकमा ‘ग’ वर्गको एकतारे हरियो ‘स्टिकर’ र सामान्यमा ‘घ’ वर्गको पहेँलो ‘स्टिकर’ टाँस्ने गरिएको छ । ‘स्टिकर’ टाँससँगै व्यवसाय सञ्चालकलाई खाद्य स्वच्छतास्तरको प्रमाणपत्रसमेत प्रदान गर्ने गरिएको छ । निर्देशिकाको अनुसूची–१ बमोजिम होटल, रेष्टुराँको खाद्य स्वच्छतास्तर मूल्याङ्कनका लागि ५० वटा प्रश्नावली तयार पारिएको छ । सोही आधारमा ९० भन्दा बढी अङ्क पाउने अतिउत्तम ‘क’, ८० देखि ८९ भित्रको अङ्क पाउने उत्तम ‘ख’, ६५ देखि ७९ सम्म अङ्क पाउने सन्तोषजनक ‘ग’ र ५० देखि ६४ सम्म अङ्क पाउने सामान्य ‘घ’ वर्गमा पर्ने गरेका छन् ।