प्रदेश 2

लागुऔषध कारोवारमा संलग्न छ पक्राउ

पर्सा । सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको रु ३३ लाख बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै अभियुक्तलाई आजै पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्जको रानीघाटबाट ११ किलो चरेससहित रामबालकप्रसाद विण, मकवानपुर थाहा नगरपालिका– ८ निवासी सोमाल थिङ्ग र भारतको कानपुर निवासी मयङ्क बाजपेईलाई नियन्त्रणमा लिइएको छ । आज बिहान १० किलो चरेससहित वीरगञ्ज महानगरपालिका–१६ बाट भारत उत्तर प्रदेश प्रतापगढ निवासी मैनुदिन अन्सारी र भारत विहार मोतिहारी निवासी अमरुल्लाह अन्सारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

त्यस्तै वीरगञ्जको इनर्वाबाट नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–९ निवासी दिपेन्द्र पनेरुलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले बताए । यसैबीच आज बिहान ठोरी गाँउपालिका–२ बाट लु १ ख ३३१० नं को ट्रकबाट नौ गाठ कपडा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ट्रकधनी चितवन माडी– २ निवासी ऋषि सुवेदी, चालक कुमार राई र सहचालक सुजन राईलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले जानकारी दिए । लागुऔषधसहित पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने बरामद भएको कपडा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।