शिक्षा

शैक्षिक पर्यटनका लागि ‘सीताराम मिनी सङ्ग्रहालय’

बेझाड । शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ । गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । पुराना सामान दैनिक चलनचल्तीमा आएका ठेकी, माना, पाथी, तरबार, भोटेताल्चा, स्याँखु, मदुसलगायतका काठ र माटोबाट बनेका सामान सङ्ग्रहालयमा राखिएको छ । यी सामान अहिले गाउँघरबाटै लोप भएर गइसकेको छ ।

सङ्ग्रहालयमा पुराना नेपाली तथा विदेशी मुलुकका सिक्का र शिलालेख गरी करीब ४०० जति सामग्री राखिएको छ । सङ्ग्रहालयमा रहेका यी सामग्रीले शिक्षणकार्यमा ठूलो सघाउ पुगेको छ । शैक्षिक पर्यटनको विकास गरी यस विद्यालयलाई शैक्षिक पर्यटन हब बनाउनका लागि सङ्ग्रहालय सञ्चालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर पोखरेलले बताए ।

मिनी सङ्ग्रहालयको अवलोकनका निम्ति विभिन्न ठाउँका विद्यालयबाट शैक्षिक अवलोकन भ्रमणमा आउने गरेको प्रधानाध्यापक विश्वनाथ भट्टराईले बताए । “प्रयोगात्मक शिक्षणका लागि सजिलो भएको छ”, उनले भने। पाठको विषयवस्तुअनुसार विद्यार्थीलाई सङ्ग्रहालयमै लगेर प्रत्यक्ष अवलोकन गराई शिक्षणकार्य गरिँदै आएको भट्टराईले बताए । यसले पनि शिक्षणकार्यमा थप ऊर्जा प्रदान गरेको छ ।

रामपुर नगरपालिका–४ सदावर्तका समाजसेवी विष्णु आचार्यले २०६५ सालमा विद्यालयमा सङ्ग्रहालय निर्माणको अवधारणा ल्याएका हुन् । उनको अवधारणालाई विद्यालय परिवार, सामाजिक व्यक्ति, यहाँका सरोकारवाला निकायको साथ र सहयोगमा मिनी सङ्ग्रहालय निर्माण गरिएको विद्यालयका संरक्षक लुकबहादुर बीरकट्टाले बताए। शिक्षक कर्मचारी, व्यवस्थापन समिति, विद्यार्थी, अभिभावकलगायत विभिन्न व्यक्तिको सहयोगमा गाउँघरमा लोपोन्मुख अवस्थामा रहेका सामान सङ्ग्रहालयमा सजाएर राखिएको छ । एउटा विद्यालयको मात्र नभई रामपुर नगरकै शैक्षिक विकासमा यस सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताए । उनले यस सङ्ग्रहालयलाई विस्तार गर्न शिक्षा शाखाबाट पहल गर्ने बताए ।