गण्डकी प्रदेश

सैतीस लाखमा खानेपानी योजना

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रु ३७ लाख ७७ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।

स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ २०७३ असारदेखि सो योजना निर्माण थालिएको हो । सांसद विकास कोषबाट रु १० लाख, नेपाल विद्युत् प्राधिकरणबाट रु १२ लाख, शुक्लागण्डकी नगरपालिकाबाट रु १० लाख तथा उपभोक्ताले रु दुई लाख ५५ हजार बराबरको जनश्रमदान गरी सो योजना निर्माण गरेका उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिनुभयो । योजनाबाट २०० परिवार लाभान्वित हुने छन् ।

“प्रत्येक घरमा मिटर जडान गरी पानी वितरण थालेका छौँ,” उनले भने । योजना निर्माण भएपछि पानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासी जयश्वर पाण्डेले बताए । “घण्टौँ हिँडेर पानी लिन जानुपर्ने बाध्यता थियो, अब समस्या हटेको छ”, उनले भने । सो योजनाको आइतबार गण्डकी प्रदेशसभाका सदस्य आशा कोइरालाले उद्घाटन गरे ।