खेलकुद

टि–२० क्रिकेट सिरिज जित्दै नेपालले इतिहास रच्यो

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो । युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई÷दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए । ब्याटिङर्त युएइका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए । बलिङतर्फ युएइका मोहमद नाभिद र सुल्तान अहमदले दुई/दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक÷एक विकेट लिए । यसअघि नेपालले एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो ।