बाग्मती

व्यापारीलाई त्रास देखाएर रकम ठग्ने पक्राउ

काठमाडौँ । काठमाडौँ मलका व्यापारीलाई त्रासमा पारेर पैसा ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज पक्राउ गरेको छ ।

गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधी पक्राउ गर्ने अभियानअन्तर्गत चाबहिल बस्ने राजु भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई बानेश्वरबाट पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । विगत एक वर्षदेखि काठमाडौँ मलको शिवलक्ष्मी कोँजुको नामको ठेक्का अलिखितरुपमा लिइ सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिलबहादुर थापालगायत छ व्यापारीको पसलमा जबर्जस्ती ताला लगाएर अनाधिकृत कब्जा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनले व्यवसायीलाई डर, धाक, धम्की दिएर पसल खाली गर्न लगाउने र अन्य व्यापारीसँग सलामीबापत धेरै रकम लिइ भाडामा लगाउने गरेको अनुसन्धानमा खुल्न आएको छ । साथै अन्य आपराधिक र कानूनविपरीतका क्रियाकलाप गर्दै आएकाले उनलाई आज पक्राउ गरी अनुसन्धान थालेको महाशाखा प्रमुख सिंहले जानकारी दिए । यसअघि गोर्खालीले काठमाडौँको रोयल डिस्कोमा तरबारले हानेर राजन लिम्बूलाई हत्या गरेको आरोपमा १० वर्ष जेल सजाय पाएका थिए । उनी विसं २०५५ मा ठमेलमा गुण्डागर्दीको आरोपमा सार्वजनिक मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ ।