अन्तर्राष्ट्रिय

भेनेजुएमा सङ्कट समाधान प्रयास, मदुरोद्वारा निर्वाचन प्रस्ताव

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गरेका छन् । यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए ।

उक्त विरोध प्रदर्शनका क्रममा विपक्षीहरुले पनि यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेका छन् । राष्ट्रपति मदुरोले यहाँको राजनीतिक समस्याको समाधानका लागि निर्वाचन एक उत्तम उपाय हुनसक्ने बताएको समाचारमा जनाइएको छ ।

उता आफैले अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकालगायतका देशको समर्थन पाउनुभएका विपक्षी नेता हुँवा गुएइदो समर्थकहरुले शुक्रबार व्यापक रुपमा प्रदर्शन गरेका थिए । त्यसपछि शनिबार राष्ट्रपति मदुरोले सो निर्वाचनको प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ । युरोपेली सङ्घमा आवद्ध प्रमुख देशहरुले पनि नयाँ निर्वाचनको वातावरण बनाउन सकेमा वर्तमान समस्याको समाधान निस्किन सक्ने प्रस्ताव गरेका छन् । विपक्षी नेता गुएइदोका समर्थक विदेशीहरुले पनि मदुरोलाई जतिसक्दो चाँडो निर्वाचन घोषणाका लागि गत हप्ता एक हप्ताको समय दिएका थिए ।

यस परिस्थितिमा राष्ट्रपति मदुरोले निवाचन गर्न सकिने प्रस्ताव गरेबाट यहाँको राजनीतिक सङ्कटको समाधान पनि निस्किन सक्ने अनुमान गरिएको छ । यहाँको नेशनल एसेम्ब्लीको निर्वाचन सन् २०१७ मा भएको थियो । सो निर्वाचन भेनेजुएलामा संविधान निर्माणका लागि भन्दै भएको हो । यो संविधान सभाको निर्वाचन थियो र यसले संविधान निर्माण गर्ने भनिएको थियो । तर सो निर्वाचन विपक्षीहरुले बहिस्कार गरेका थिए । जसका कारण राष्ट्रपति मोदुरोका पक्षधरहरुको मात्र संसदमा प्रतिनधित्व भएको थियो । त्यसैले पनि गुएइदोहरुले सो निर्वाचनबाट निर्वाचित सरकार वैधानिक नभएको दाबी गर्दै आएका हुन् ।

अब नियमित रुपमा भएमा आगामी निर्वाचन् सन् २०२० मा हुनुपर्ने हो । तर पनि सन् २०१७ को संविधान सभाको निर्वाचनको परिणाम विपक्षीहरुले स्वीकार नगरेका र अर्को निर्वाचनको माग गरेकोले त्यस अगावै निर्वाचन गर्न सकिने राष्ट्रपति मदुरोले बताएका छन् । विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकापछि उनको यो प्रस्ताव आएको अनुमान गरिएको छ । भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै आएका छन् । उनले केही दिन अगाडि आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका थिए । उनको यो कदमलाई अमेरिका र अरु केही विदेशीहरुले समर्थन गरेपछि यहाँको सङ्कट बढेको हो ।