राजनीति

कांग्रेसको सडक र सदनको निरन्तर दबाबले अस्पताल सङ्घअन्तर्गत राख्न बाध्य

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सडक र सदनको निरन्तर दबाबले सरकारले आफ्ना स्वर्गीय दुई नेताको नामका स्थापित दुई अस्पताल विकास समितिहरू सङ्घअन्तर्गत यथावत् राख्न बाध्य भएको जनाएको छ ।

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, दुलेगौँडा, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज बाँकेलाई हालै बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घअन्तर्गत यथावत् राख्ने निर्णय गरेको थियो ।

ती दुई अस्पतालतबाहेक विभिन्न नौवटा अस्पताललाई मात्र सङ्घअन्तर्गत राख्ने निर्णयमा नेपाली काङ्ग्रेसले आपत्ति जनाउँदै प्रतिनिधिसभा तथा राष्ट्रियसभा दुवै अवरुद्ध गर्दै आएको थियो । यसपछि सरकारले ती दुई अस्पताल सङ्घअन्तर्गत नै राख्ने निर्णय गरेको थियो । नेपाली काङ्ग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय चिकित्सा विधेयक, २०७५ सुधार गर्न निरन्तर आन्दोलन जारी राख्ने जनाएको छ ।

बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीसित सङ्क्षिप्त कुराकानी गर्दै चिकित्सा शिक्षा सुधारका लागि डा गोविन्द केसीले उठान गरेका मागमा नेपाली काङ्ग्रेसको साथ र सहयोग रहने बताए। प्रमुख सचेतक खाँणले सदनमा सभामुखले सत्ता पक्ष र मिलाएर जानुपर्छ र तटस्थ भूमिका निर्वाह गर्नुपर्छ भने ।