राजनीति

गगनको प्रश्नः प्रधानमन्त्री भ्रष्टाचारको कुरा सुन्नपनि नचाहने बताउछन् तर मुलुकमा भ्रष्टाचार बढ्छ किन ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारलाई गल्ती गर्नबाट रोक्न आफूहरूले प्रतिपक्षीको भूमिकामा नियमित दबाब दिइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुखले काङ्ग्रेसका तर्फबाट सांसद थापालाई बोल्न समय दिएका थिए । सांसद थापाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल सरकारले विघटनको सङ्घारमा पु¥याएको उल्लेख गर्दै प्रतिप्रक्षी दलको नियमित दबाबका कारण सरकार उक्त गल्ती सच्याउन बाध्य भएको बताए ।

उनले पूर्वप्रधानमन्त्रीद्वय कोइरालाको नाम कसैले अस्पतालबाट हटाउने प्रयास गरे पनि उनीहरूले नेपालको राजनीतिमा गरेको योगदान कसैले मेट्न नसक्ने चेतावनी दिए । सांसद थापाले प्रतिपक्षी दलसँग सरकारले गरेको व्यवहारका कारण आगामी दिनमा प्रतिपक्षीको भूमिकामा यथास्थितिमा रहने नसक्ने बताए ।

डा. गोविन्द केसी अनशनमा भएका बेला सरकारका तर्फबाट कुनै माग सुनुवाइ नगरी अनशन टुङ्गिएकोप्रति सरकारलाई बधाई दिँदै उनले डा केसीकै चिकित्सा शिक्षा क्षेत्रमा सुधारको अभियानले चिकित्सा शिक्षा अध्ययन गर्न रु एक करोड पुग्न लागेको शुल्क आधा कम भएको धारणा व्यक्त गरे ।

डा केसीको यसअघिको अनशनका बेला स्वयं प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता कार्यान्वयन नहुँदा प्रधानमन्त्रीप्रतिको विश्वास गुमेको उनले टिप्पणी गरे । सांसद थापाले मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर हुनाका साथै हत्या हिंसा बलात्कार बढेको र अर्थतन्त्र सङ्कट उन्मुख भएको भन्दै जनतामा निराश छाएको बताए ।

व्यापारीहरू ब्याज चर्को भयो भनेर सडकमा आउँदासमेत सरकारले ठोस पहल गर्न नसकेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने र आफू पनि नगर्ने बताइरहँदा मुलुकमा भ्रष्टाचार बढेको तथ्याङ्क सार्वजनिक भएको अवगत गराए ।