प्रदेश 1

विकसित इलामको अविकसित पश्चिमी क्षेत्र

पशुपतिनगर । पश्चिमी इलामका बासिन्दा सडक, खानेपानी, विद्युत्, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा नपाएर पिरोलिएका छन् । धुले सडकबाट हिउँदका सात महीना सदरमुकामसँग जोडिने पश्चिमी इलामका बासिन्दालाई बर्सातमा समुद्रको टापुमा बसेसरह हुन्छ । महाभारत पर्वतको बायाँ पर्ने जिल्लाको फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकावासीले इलाम विकासमा अगाडि रहेको ‘सुगमताको’ बिल्ला मात्रै भिरेका छन् । स्थानीय सरकार गठन भएको डेढ वर्ष बिते पनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत् विस्तारको काम नहुँदा जनता समस्या झेल्न बाध्य भएको फाकफोकथुम गाउँपालिका आमचोकका कृष्णप्रसाद खनालले बताए ।

मेचीराजमार्गको कालोपत्र छोडेर ३६ किलोमिटर यात्रामा पुग्न सकिने फाकफोकथुम गाउँपालिकाको केन्द्र रहेको आमचोकमा शुद्ध खानेपानी, विद्युत्को केन्द्रीय प्रसारण र सडककै भरपर्दो व्यवस्था छैन । हिउँदमा धुलो उडाउँदै कुद्ने गाडी बर्सातमा ठप्प हुँदा बिरामीको उपचारका लागि ‘स्ट्रेचर’ खोज्नुपर्छ । तीस करोड ३७ लाख बढी बजेट विनियोजन गरेको गाउँपालिका आफैँ भौतिक संरचनाविहीन छ ।

पञ्चायतकालीन चारकोठे भवनमा केन्द्र रहेको गाउँपालिकाको ६ वडा भाडामा चल्दै आएका छन् । भौतिक, प्रशासनिक र विकासका पूर्वाधार अभावले जेलिएको गाउँपालिकामा जनप्रनिधि निर्वाचित भएर आए पनि डेढ वर्ष बित्दा आफ्नो सम्भावना र विकासको गुरुयोजना बनाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले बताए । साविक पाँच गाविस समायोजन गरी गाउँपालिका घोषणा गरिए पनि स्तरोन्नति भएका सडकहरू निर्माण नहुँदा वर्षमा सात महीना मात्रै सडकमा गाडी गुड्ने गरेका छन् । सदरमुकामदेखि ६५ किलोमिटर पश्चिममा रहेको गाउँपालिकाको केन्द्र विवादले मुख्य प्रशासनिक भवन निर्माणको काम अन्योल रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

जनप्रतिनिधि निर्वाचित भएको दोस्रो आर्थिक वर्षको बजेट विनियोजनले सबै वडादेखि केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले बताए । स्थानीय तहमा अधिकार भए पनि विकासको हिसाबले अत्यन्त पछाडि रहेकाले गाउँपालिकाको विकास बजेटले परिवर्तनको अनुभूति आउन नसकेको अध्यक्ष श्रेष्ठको भनाइ छ । “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सबै हिसाबले पिछडिएको फाकफोकथुमलाई पाँच वर्षमा परिवर्तन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, उनले भने ।

केन्द्रीय प्रसारण लाइनले जोडिए पनि ८० प्रतिशत क्षेत्रमा विद्युत् नपुगेको फाकफोकथुममा विद्युत् विस्तारका लागि ४ र ५ नं वडामा काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष शरु राईले जानकारी दिए । पुराना खानेपानी आयोजना मर्मत नहुँदा गाउँपालिकावासीले शुद्ध खानेपानीको उपभोग गर्न पाएका छैनन् । “इलामको ‘कर्णाली’ मानिएको पश्चिमी क्षेत्र विकासका पूर्वाधारदेखि खानेपानी, शिक्षा र स्वास्थ्यमा पछाडि छ”, स्थानीय गोविन्द लामिछाने भने, “सदरमुकामसँग जोड्न र भौतिक पूर्वाधार विकास गर्न स्थानीय, प्रदेश र सङ्घीय जनप्रतिनिधिबाट संयुक्त सम्बोधन नभए कुनै एक सरकारको बजेटले मात्रै परिवर्तन नहुने देखिन्छ ।”