बाग्मती

डिजिटल नक्साङ्कन गरिँदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले बहुउपयोगी डिजिटल प्रविधिमा आधारित नक्साङ्कन एवं घरधुरी सर्वेक्षण गर्ने भएको छ ।
नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण घर, सम्पदा, मठ, मन्दिर, खुला क्षेत्र, बस्ती, सडकलगायत नगरको सचित्र आउने गरी नक्साङ्कन गरिने भएको हो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यही माघ २६ गते नगरपालिका क्षेत्रको पुरानो र परम्परागत बस्तीका रुपमा रहेको बालकुमारी, चपाचो, नगदेश र बोडेमा नक्साङ्कनमा लागि ड्रोन क्यामरा उडाइने बताए ।

“घर नम्बरिङको बेस म्याप बनिसक्यो, हामी थ्रि डि नक्साङ्कनमा जाने योजनामा छौँ” उनले भने, “नगरपालिकाबाट नगर क्षेत्रको सबै घरसहितको सम्पूर्ण संरचना हेर्न सकिने गरी नक्साङ्कन गरी हाउस नम्बरिङमा समेत जाने छौ ।” उनले मध्यपुरथिमिको परम्परागत नाम र पहिचानलाई मेटिने गरी टोलको जथाभावी नामाकरण हुन थालेकोमा आपत्ति जनाउँदै त्यसलाई समेत व्यवस्थित गरिने र परम्परागत नाम एवं पहिचानलाई कायम गरेर नामाकरण गरिने बताए ।

टोलको नामाकरणको सन्दर्भमा वडाबाट सिफारिस सङ्कलन गरी टोल, सडक लगायतको नगरसभाबाटै पारित गरेर स्थायी रुपमा नामाकरण गरिने उल्लेख गर्दै उहाँले नयाँ बस्तीले राखेको टोलको नाममा समेत पुरानो नामलाई समेटेर लैजाने बताए ।

नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले नगरपालिकाले हरेक नागरिकको वासस्थान र नागरिक चिन्न सकियोस्, प्रत्येक व्यक्तिको घर, नगर भित्रका सम्पूर्ण संरचना, सडक, मठ मन्दिर नगरपालिकाबाटै हेर्न सकियोस्, नागरिकले नक्सा पास गरेको छ कि छैन, कर तिरेको छ कि छैन, नगरपालिकाबाटै सबै देख्न सकिने गरी नक्साङ्कन गर्न लागिएको बताए ।

उनले भने, “सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र वितरण कार्यमा स्थानीय तहले पनि यसलाई लागू गरेपछि एउटा व्यक्तिको घर कति ठाउँमा छ, जग्गा जमीन कहाँ कहाँ छ, भन्ने व्यक्तिगत तथ्याङ्क समेत हेर्न मिल्ने गरी सिस्टम बनाएर लैजान खोजिएको हो, यसले नगरको समग्र विकासमा टेवा पुग्छ ।”

उनले नक्साङ्कन र सर्वेक्षणले नयाँ जन्मेदेखि मृत्यु भएकासम्मको तथ्याङ्क तत्काल राख्न सकिने, कुन टोलमा कति घर छ, कति जनसङ्ख्या छ, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यको अवस्था कस्तो छ भन्ने सहजै जानकारी लिन सकिने गरी तयारी भएको बताए ।

नक्साङ्कन तथा सर्वेक्षण सकिएपछि नगरपालिकाको पहिचान झल्किने गरी नागरिकलाई परिचय पत्र प्रदान गरिने र नगरपालिकाको कुनै सूचना प्रवाह गर्नुपरे सबै नागरिकसम्म एकै पटक पुग्ने गरी डिजिटल प्रविधिबाट सूचना प्रवाहको व्यवस्थापन गरिने ज्ञवालीले बताए । आगामी आव। ०७५७६ को छ महीनाभित्र कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ ।