गण्डकी प्रदेश

जलचरको अस्तित्व सङ्कटमा

गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका नदी तथा खोलामा रहेका जलचर लोप हुने अवस्थामा पुगेका छन् । नारच्याङमा रहेका नदी तथा खोलाबाट धमाधम जलविद्युत् आयोजना निर्माण हुन थालेपछि जलचरको बासस्थान नास हुनुका साथै वातावरणीय सन्तुलनसमेत बिग्रेकाले जलचरको अस्तित्व सङ्कटमा परेको स्थानीयवासीले बताएका छन् ।

वर्षौँदेखि पाइने गरेका स्थानीय भुरे जातका माछा, गङ्गटा, गड्यौलालगायतका जलचर लोप हुँदै गएका स्थानीयवासीले बताएका छन् । जलचर लोप हुन थालेपछि वातावरणीय असन्तुलन उत्पन्न हुनुका साथै खोला तथा नदीवरपरका खेतीयोग्य जमीनको माटोमा उर्वराशक्ति कम हुँदै गएको उनीहरुको भनाइ छ ।

नारच्याङ जलचर र जङ्गली जनावरको बासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकाले जलचर सङ्कटमा परेका नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाले बताए ।

नारच्याङमा १५७ मेगावाटका पाँच जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् । यी नदी र खोलामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेपछि यहाँका जलचरदेखि रैथाने प्रजातिका पुतली, वनस्पति र पक्षीहरु हराउँदै जान थालेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए। ‘हाइड्रो भिलेज’ का नामले चर्चित नारच्याङमा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेपछि स्थानीयवासीले रोजगारी पाउनुका साथै जीवनस्तरमा उल्लेख्य सुधार आउँदा खुशी लागे पनि यहाँका सम्पदा र प्राकृतिक स्रोत नासिँदा भने दुःख लागेको वडाध्यक्ष फगामीले बताए ।