-कल्पना काफ्ले -कविता
अँध्यारोको कालो पाना च्यातेर
लेख्नु छ एउटा उज्यालोको इतिहास
र समर्पित गर्नु छ थकित समयलाई
त्यस उप्रान्त
मौन आँखाबाट तप्प तप्प चुहाएर आँसु
बस्ने छैनन् कुनै निरीह बाआमा
विवशताका उदास वृद्धाश्रममा
राष्ट्रका भविष्यहरु
हारेर जीवनका कुरुक्षेत्रबाट
खसी बोका र भेंडाच्याङ्ग्रा भएर
बेचिने छैनन् अन्तराष्ट्रिय हाटबजारमा
निर्मम बधशालामा रेटिने छैनन्
आँखाभरि इन्द्रेणी सपना बोकेर
आँगनमा ढकमक्क फुलेका
बेली चमेलीहरुका शालीन अस्तित्व
अथकित निर्बाध उकालो चढने छन्
हरेक नागरिकका इन्द्रेणी सपना
केटाकेटीहरु निर्धक्क हिंड्ने छन् पाठशाला
कुनै आँधी हुरीले निभाउने छैनन्
हृदय प्रदीप्त विश्वासको दियो
हरेक मनहरुमा अविराम बगिरहने छन्
उत्साहका नदी
प्लाष्टिकका छानाबाट चुहिएका
आँसुका झरीले निथ्रुक्क रुझेका अनुहारमा
फुल्ने छ खुसीको सम्भावित फूल
बेइमानहरु भाग्ने छन् पुच्छर लुकाएर
खग्रासले आहत हुने छैन सौन्दर्यको जून
छली बादलको चक्रव्यूहबाट
मुक्त हुनेछ अपेक्षित घाम
र हरेक चिसिएको आँङमा अनुभूत हुनेछ मृदुल न्यानो
अभियुक्त भएर षड्यन्त्रहरु उभिने छन् न्यायको कठघरामा
साबित हुनेछ अपराध
क्रमशः बिस्तारै बिस्तारै ओरालो झर्ने छ स्वार्थ
एकाएक परास्त हुनेछ अनैतिकता
अहा १ अनि भीरमा पीरमा ढकमक्क फुल्नेछ राष्ट्रियता
यत्र तत्र सर्वत्र फेलिने छ उज्यालोको अनुपम सुवास
ओ शकुनिहरु
अहिले यसबेला म उत्साहमा छु जाँगरमा छु
न बिथोल मेरो एकाग्रता
उर्वर माटो खोस्रेर मैले छर्नु छ उज्यालोको बीज
उमार्नु छ रगत र पसिनाको समागममा हृदयभरि खुसी
बाँडनु छ हरेक अँध्यारा मनहरुलाई
मनाउनु छ एउटा विजयोत्सव
अँध्यारोको कालो पाना च्यातेर
लेख्नु छ एउटा उज्यालोको इतिहास
र समर्पित गर्नु छ थकित समयलाई ।