अन्तर्राष्ट्रिय

सङ्कटका बीच राष्ट्रपति ट्रम्पको “स्टेट अफ यूनियन” सम्बोधनको तयारी

वासिङ्टन । विवादास्पद नीतिहरुका कारण सङ्कटमा पर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी थाल्नुभएको छ । अमेरिकी प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटको संयुक्त सदनलाई अमेरिकी राष्ट्रपतिले “स्टेट अफ यूनियन” को नाममा सम्बोधन गर्ने परम्परा छ ।

राष्ट्रपति ट्रम्पले दुबै सदनको संयुक्त सत्रलाई पहिलोपटक आगामी मङ्गलबार सम्बोधन गर्न लाग्नुभएको छ । तर धेरैले राष्ट्रपति ट्रम्पको यो सम्बोधन विवादको घेरामा रहेको बताएका छन् । राष्ट्रपति अब्राहम लिङ्कनले सम्बोधन गर्दा अमेरिकामा गृहयुद्ध थियो भने रिचार्ड निक्सनले सम्बोधन गरेका बखत उहाँ आफैँ बहुचर्चित वाटरगेट काण्डको घेराबन्दीमा हुनुहुन्थ्यो । बिल क्लिन्टनले संयुक्त सदनलाई सम्बोधन गरेको लगत्तै अर्को साता त्यही सभाहलले उहाँविरुद्ध महाभियोग लगाएको थियो ।

अमेरिकी राष्ट्रपतिसम्बन्धी इतिहासकार डग्लस ब्रिन्क्लेले ट्रम्पको आगामी सम्बोधन निकै अनौठो र विचित्र किसिमको हुनसक्ने बताउनुभयो । सन् २०१६ को राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको बारे ट्रम्प विरुद्ध सङ्घीय अनुसन्धान चलिरहेको छ । विपक्षी डेमोक्र्याट पार्टीले ट्रम्पलाई राजीनामा दिन लगातार दबाब दिइरहेको छ भने ट्रम्प स्वयंले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न अमेरिकी कङ्ग्रेसले बजेट नछुट्याए सङ्घीय कार्यालयहरु पुनः बन्द गर्ने धम्की दिइरहनुभएको छ ।

डेमोक्र्याट पार्टीकी नेतृ एवं सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पसँग बजेट विषयमा मतैक्य भएपछि राष्ट्रपतिको सम्बोधनलाई ढिलाइ गरिदिनुभएको थियो । पेलोसीले मेक्सिको सीमामा पर्खाल निर्माणका लागि अमेरिकी करदाताको रकम फजूल खर्च गर्न नदिने बताउँदै आउनुभएको छ । यही विवादका कारण अमेकिरी सङ्घीय कार्यालयहरु झण्डै ३५ दिन आंशिक बन्द रहे । अमेरिकी राष्ट्रपतिहरुले गर्ने संयुक्त सम्बोधनहरु कैयौंपटक निकै विवादास्पद अवस्थामा भएका छन् ।

दुई दशकअघि डेमोक्र्याट पार्टीबाट निर्वाचित राष्ट्रपति बिल क्लिन्टनले रिपब्लीकन पार्टीको नियन्त्रणमा रहेको संयुक्त सदनमा सम्बोधन गर्नुभएको थियो, तर डिसेम्बर १९९८ मा त्यही सदनले सङ्घीय ग्रान्ड जुरीसमक्ष झुटो बोलेको आरोपमा क्लिन्टन विरुद्ध महाभियोग लगाएको थियो । क्लिन्टनले ह्वाइट हाउसकी सहयोगी कर्मचारी मोनिका लेविन्स्कीसँग सम्बन्ध राखेको छैन भनी बयान दिएर न्यायमा अबरोध सिर्जना गर्नुभएको आरोप खेप्नु भएको थियो । राष्ट्रपति क्लिन्टनले संयुक्त सदनलाई सम्बोधन गरेलगत्तै ह्वाइट हाउसका कानुन व्यवसायीहरुले सिनेटको सुनुवाईमा क्लिन्टनको पक्षबाट प्रतिरक्षा गरेका थिए । उनीहरुले राष्ट्रपतिमाथिका आरोपहरु गलत रहेको तर्क गर्नुका साथै राष्ट्रपतिलाई पदच्यूत गर्न नहुने बताएका थिए ।

यस्तो विषम परिस्थितिमा कुनै पनि राष्ट्रपतिले स्टेट अफ यूनियन सम्बोधन गरेका थिएनन् । पूर्व सिनेट इतिहासकार डोनाल्ड रिचीका अनुसार, त्यसबखत क्लिन्टनले संयुक्त सदनको सम्बोधन रद्द गर्नुहुने व्यापक अनुमान गरिएको थियो । तर क्लिन्टनले सम्बोधन मात्र होइन, अर्थतन्त्रमा आएको सुधार, सन्तुलित सङ्घीय बजेट र वृद्धहरुका लागि सामाजिक सुरक्षासम्बन्धी नयाँ प्रस्तावका बारेमा लामो व्याख्यान दिनुभयो । राष्ट्रपतिको कुर्ची नै धरापमा पार्न सक्ने महाभियोगमाथि हुनेसक्ने सम्भावित मतदानका बारेमा उहाँले केही उल्लेख गर्नुभएन ।

“उहाँ आउनुभयो र आफ्ना कुरा भन्नुभयो, मानौं केही भइरहेकै छैन,” रिचीले स्मरण गर्नुभयो । सिनेटले अर्को महिना क्लिन्टनलाई सफाई दियो । दशकौं अघि राष्ट्रपति निक्सनले जनवरी १९७४ मा गरेको भाषणमा मुलुकको ऊर्जा सङ्कटका बारेमा बोल्नु भएको थियो । आफ्नो सम्बोधन समाप्त गर्नैलाग्दा उहाँले वाटरगेटका बारेमा “निजी शब्दहरु” थप्नुभयो । निक्सनले आफू विरुद्ध जारी अनुसन्धान टुङ्ग्याउन आग्रह गर्नुभयो, र भन्नुभयो – “वाटरगेटका बारेमा एक वर्ष भनेको पर्याप्त समय हो ।” उहाँले राष्ट्रपतिको पदबाट राजीनामा दिने कुनै योजना नरहेको पनि सुनाउनुभएको थियो ।

तर रिपब्लीकन पार्टीले आफ्नो अडान फे¥यो र राष्ट्रपति निक्सनलाई राजीनामा गर्न बाध्य तुल्यायो । उहाँ राजीनामा गरेर पदबाट हट्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभयो । निक्सनमाथि विपक्षी डेमोक्र्याट पार्टीको मुख्यालयमा जासुसी गरी गोप्य सूचना प्राप्त गरेको आरोप लागेको थियो । निक्सनले राजीनामा दिएलगत्तै राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएका जेराल्ड फोर्ड ९निक्सनका उपराष्ट्रपति० ले निक्सनलाई माफी दिनुभयो ।

फोर्डले सन् १९७५ मा संयुक्त सदनमा दिनुभएको “स्टेट अफ यूनियन सम्बोधन” मा मुलुकको स्थिति राम्रो नभएको भन्दै तितो यथार्थ प्रस्तुत गर्नुभयो । फोर्डले मुलुकमा उच्च बेरोजगारी व्याप्त रहेको, आर्थिक मन्दी छाएको, मुद्रास्फिती बढेको, सङ्घीय बजेट घाटा बढेको तथा राष्ट्रिय ऋणको मात्रा बढेको बताउनुभयो । राष्ट्रपति लिङ्कनले आजसम्मकै कमजोर स्थितिको सामना गर्नु परेको थियो । गृहयुद्धको चपेटामा परेको त्यस बखतको अमेरिकामा राष्ट्रपति लिङ्कनले मुलुकको जर्जर अवस्थाको चित्रण गर्नुभएको थियो ।

डिसेम्बर १८६५ मा गृहयुद्ध शुरु भएको आठ महिनापछि लिङ्कनले प्रचलित नियमबमोजिम दिनुभएको लिखित सम्बोधनमा “केही देशद्रोहीहरु अमेरिकी एकतालाई विभक्त गर्न र विघटन गर्न प्रयत्नशील रहेको” भन्दै साबधान रहन आह्वान गर्नुभएको थियो । राष्ट्रपति लिङ्कनले आन्तरिक रुपमा विभाजित मुलुकलाई विदेशमा पनि सम्मान प्राप्त नहुने बताउँदै यस्तो अवस्थामा कुनै एक पार्टी वा पक्षले ढिलोचाँडो विदेशी हस्तक्षेप निम्त्याउने खतरा रहने चेतावनी दिनुभएको थियो ।